पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ५ को कार्यालयको आयोजनामा ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । नेपालीहरूको महान् पर्व विजया दशमी, शुभ–दिपावली, छठ, नेपाल सम्वत् सहितका पर्वको शुभकामना आदानप्रदान गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा वडा भित्रका ब्याडमिन्टन खेलाडीले प्रतिष्पर्धा गर्नेछन् । खेलाडीलाई ए र बि क्याटेगोरीमा विभाजन गरेर हुने प्रतियोगितामा ५० भन्दा बढी खेलाडीको सहभागितामा रहने अपेक्षा गरिएको वडाध्यक्ष विष्णुप्रसाद बरालले कोटखबरलाई जानकारी दिए ।

असोज १६ गतेदेखि असोज १९ गतेसम्म हुने प्रतियोगितामा भाग लिनेले असोज १४ गते कार्यालय समयभित्र नाम दर्ता गराइसक्नुपर्नेछ । दुबै क्याटगोरीको विजेताले १२ हजार रुपैयाँ, उपविजेताले ७ हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र हात पार्नेछन् । यो प्रतियोगिताको तयारीमा समेत तीव्रता दिइएको वडाध्यक्ष बरालले खुलाए । प्रतियोगिता रविन्द्र स्मृति ब्याडमिन्टन कोर्टमा सञ्चालन हुनेछ  ।

वडाले वार्षिक कार्यक्रम अन्तरगत प्रतियोगिताको आयोजना गर्न लागेको हो । खेलकुदका पूर्वाधारको हिसाबले समेत वडा अगाडि रहेको भन्दै प्रतियोगिताको आयोजनाले यस क्षेत्रमा अगाडि बढ्न खोज्ने खेलाडीलाई उत्प्रेरणा जगाउने विश्वास व्यक्त गरे ।

‘हामीले निरन्तर खेलकुदसँग सम्बन्धित गतिविधि गर्दै आएका छौँ, यस्ता प्रतियोगिताले खेलकुद प्रतिको आकर्षण बढाउदै वडामा रहेका नयाँ खेलाडीलाई अगाडि बढ्न प्रोत्साहन मिलाउनेछ’ उनले भने ।

वडामा ब्याडमिन्टन सहित फुटबल, फुटसल, बास्केटबल, क्रिकेट, भलिबल, एथलेटिक्स लगायतका खेलको लागि आवश्यक पूर्वाधार रहेको कारण समेत खेल क्षेत्रमा अगाडि बढ्न चाहनेलाई सजिलो भएको वडाध्यक्ष बरालले सुनाए ।

प्रतियोगितालाई सफल बनाउन वडावासी, टोल विकास संस्था, आमा समुह, सङ्घसंस्था एवं खेलकुद क्षेत्रमा रुचि राख्ने सबैमाझ वडाले अनुरोध गरेको छ । यो प्रतियोगिताका अलावा दशैं र तिहारको बीचमा समेत वडाले दुई खेलमा प्रतियोगिताको आयोजना गर्ने तयारी गरेको वडा सदस्य गोविन्द प्रसाद पराजुलीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0