पोखरा । देशैभरका लोकदोहोरी कलाकार शुक्रबार पोखरा आउने भएका छन्। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको २४ औँ वार्षिक साधारण सभा तथा विधान अधिवेशनमा सहभागी बन्न उनीहरू पर्यटनको राजधानी शहर पोखरामा आउने भएका हुन् । असोज ११ र १२ गते दुई दिन हुने कार्यक्रमलाई भव्य बनाउन तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष रीता थापामगरले कोटखबरलाई जानकारी दिइन् ।
विधान अधिवेशनले प्रतिष्ठानको विधान थप मजबुत बनाउने भएकोले अधिवेशनलाई महत्त्वका साथ हेरिएको छ । पोखरा सभागृह हलमा आयोजना हुने कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार दिउँसो १ बजे गर्नेछन् । सहभागीहरू पोखरा आउने क्रम सुरु भैसकेको छ ।
अधिवेशनमा केन्द्रीय समिति बाहेक ६ सय जना प्रतिनिधिको सहभागिता रहने अध्यक्ष थापा मगरले जानकारी दिइन् । विधान अधिवेशनमा समेट्ने विषयलाई अन्तिम रूप दिन आज दिउँसो ४ बजे केन्द्रीय कमिटीको बैठक पोखरामा बस्दैछ। सोही बैठकले के-के विषय राख्ने भन्ने बारेमा निर्णय गर्नेछ ।
मौलिक लोक संस्कृतिको संरक्षण सम्वर्द्धन र प्रवर्द्धनका निम्ति विकृति विसङ्गतिमा उद्धत सदस्यहरूको विषयमा शून्य सहनशीलताका विषय हुन सक्ने अध्यक्ष थापामगरले बताइन् । ‘पदहरू थपिने अवस्था छैन । सामाजिक सहायता कोषलाई अब विधान मै समेटेर विनियमावलीले निर्देशन गर्ने गरि औपचारिक सञ्चालन गर्ने तयारी पनि छ’ उनले भनिन् ।स्थानीय तह सम्म पुग्ने गरि विधानमा नगर समितिहरू बनाउने व्यवस्था बनाउन सकिन्छ कि भन्ने तयारी भएको उनको भनाइ छ ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आयोजनामा हुन लागेको साधारण सभा र विधान अधिवेशनको सह-आयोजकको जिम्मेवारी प्रतिष्ठान गण्डकी प्रदेश समिति र स्थानीय व्यवस्थापनको जिम्मेवारी जिल्ला समिति कास्कीले पाएको छ ।
प्रतिष्ठानले संस्थालाई थप मजबुत बनाउन विधानमा आवश्यक संशोधन, थपघट, कानुनी व्यवस्थाका विषयमा संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरू, कानुनी सल्लाहकार सहितको छलफल अयरपानी सामुदायिक होमस्टे, फेदीखोला-१ स्याङ्जामा केही दिन अगाडि गरेको थियो ।