पोखरा । नेपालमा २०१४ साल असार ९ गते नेपाली साहित्य कला एकेडेमीको स्थापना भयो । भाषा, संस्कृति, साहित्य, सामाजिक शास्त्र तथा दर्शनशास्त्र सम्बन्धी विभिन्न विषयमा अध्ययन अनुसन्धान गर्नुपर्ने आवश्यकताको महसुस गरेर यसको गठन भएको थियो । गठन गर्नमा महाकवि लक्ष्मीप्रसाद देवकोटा सहित त्यतिबेलाका साहित्य क्षेत्रका स्थापित व्यक्तिहरूको महत्वपूर्ण भूमिका रहेको थियो । त्यसपछि यसको नाम नेपाल एकेडेमी हुँदै नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा परिणत भयो ।
देशमा गणतन्त्र आयो । कार्यविभाजन गरेर ललितकला प्रज्ञा–प्रतिष्ठान, सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र नेपाल प्रज्ञा–प्रतिष्ठान छुट्टाछुट्टै गठन भए । त्यसपछि तीनवटै प्रतिष्ठानले आफ्ना गतिविधि सञ्चालन गरिरहेका छन् । यो क्रम रोकिएको छैन । तर, पर्याप्त बजेट नहुँदा समग्र प्रदेश र जिल्लालाई समेटेर काम गर्न सम्भव भएन । अधिकांश गतिविधि केन्द्रमै सीमित बन्न पुगे ।
देशमा सङ्घीयता आएपछि प्रज्ञा–प्रतिष्ठानको आवश्यकता केन्द्र बाहिर समेत महसुस भयो । केन्द्रका तीनवटा एकेडेमीले ७७ जिल्ला भित्रका विभिन्न भूगोलहरू, त्यहाँ रहेका विभिन्न जातजाति, सङ्घसंस्था उनीहरूको उद्देश्य अनुसार सम्बन्धित ठाउँमा पुग्न सकेका थिएनन् । न्यून बजेटका कारण सम्भव समेत थिएन । यसरी उनीहरु पुग्न नसकिरहेको अवस्थामा त्यहाँको कला साहित्य सङ्गीत र संस्कृतिको वृत्ति विकास र प्रर्वद्धन र सम्वर्द्धन आवश्यक परिरहेको बेलामा यसको परिकल्पना गरियो । जसको सुरुवात पोखराबाट भयो ।
सुरुवात गर्ने क्रममा अगुवाई गर्ने मध्येका एक मनकुमार श्रेष्ठ हरेक पालिकामा प्रज्ञा–प्रतिष्ठान बन्नुपर्छ भन्ने मान्यताका साथ आफूहरूले पहल गरेको बताउँछन् । पालिकामा भाषा संस्कृति जोगाउन सकियो भने समग्र जिल्लाको जोगिन्छ । जिल्लाको जोगाउन सकियो भने प्रदेशको जोगिन्छ । समग्र प्रदेशको यी सबै विषय जोगाउन सकियो भने समग्र देशको संस्कृति जोगाउन सकिन्छ भन्ने मान्यता उनीहरूको थियो । पालिकाबाट नै यसको अभ्यास गर्नुपर्छ भन्ने धारणा सहित यो प्रस्ताव उनले त्यतिबेला क्षेत्रफलको हिसाबले नेपालको सबैभन्दा ठुलो महानगरपालिकाका प्रमुख मानबहादुर जिसी समक्ष पेश गरेका थिए ।
यसको सुरुवात पोखराबाट गर्नुपर्छ पोखरा पर्यटन र संस्कृतिको राजधानी हो । यो गर्नुपर्छ भनेर उनीहरूले प्रस्ताव गरे । प्रस्ताव स्वीकार भयो । नगर सभाबाट ५० लाख विनियोजन गरेर पोखरा प्रज्ञा–प्रतिष्ठान बनाउन कुरा भयो । तत्कालीन पोखरा ७ का वडाध्यक्ष रामचन्द्र बरालको संयोजकत्वमा सिफारिस समिति गठन भएको थियो । विज्ञ सदस्यको रुपमा मनकुमार श्रेष्ठ र सदस्यको रुपमा पोखरा महानगरपालिकाकै तत्कालीन सूचना अधिकारी भरतराज पौडेल सदस्य रहे । यो समितिको दूई महिनाको अभ्यासमा पोखरा प्रज्ञा–प्रतिष्ठान स्थापना भयो २०७७ साल फागुन १९ गते । त्यसपछि पालिका र प्रदेश स्तरका प्रज्ञा प्रतिष्ठानको स्थापना हुन थाल्यो ।
अहिले स्थानीय तहमा यसको आर्कषण रहेको छ । गण्डकी प्रदेशका केही पालिकाले प्रज्ञा–प्रतिष्ठान गठन गरेका छन् । केहीले गठन नगरेपनि अभ्यास सुरु गरेका छन् । देशभरी ३० भन्दा बढी पालिकामा प्रज्ञा–प्रतिष्ठान गठन भैसकेको छ । केहीमा गठन हुने प्रक्रिया रहेको छ । तर, इतिहास बनाएको पोखरा प्रज्ञा-प्रतिष्ठान यतिबेला गतिविधि शुन्य अवस्थामा पुगेको छ । संस्थापक कुलपति पदमराज ढकाल सहितको टिमको तीनवर्षको कार्यकाल गत फागुन १९ गते पुरा भएको हो । त्यसपछि प्रतिष्ठानले औपचारिक कार्यक्रम गर्न सकेकाे छैन ।
बजेटको अभावको कारण पर्याप्त कार्यक्रम गर्न नसकेको भएपनि पोखरामा रहेका १ सय को हाराहारीका वाङमयिक संस्थासँगको सहकार्यमा थुप्रै कार्यक्रम गरिएको संस्थापक कुलपति ढकाल सुनाउँछन् । सुरुवातमा ५० लाख बजेट विनियोजन गर्ने गरेको महानगरपालिकाले गत वर्ष ३० लाख बजेट छुट्यायो भने यो वर्ष ३२ लाख छुट्याएको छ ।
पोखरा प्रज्ञा–प्रतिष्ठानको स्थापना पश्चात केही आधार भने निर्माण भएको छ । महानगरपालिकाले महत्व नदिँदा नयाँ कुलपति चयन हुन सकेको छैन भने प्रतिष्ठानले गर्ने कार्य ठप्प भएको छ । कुलपति बन्नको लागि केही स्रष्टाले दौडधुप गरिरहेको भएपनि महानगरपालिकाले समयमा चासो नदिँदा प्रतिष्ठानको औचित्यमाथि प्रश्न खडा हुने अवस्थामा पुगेको छ ।
पोखरा प्रज्ञा प्रतिष्ठान ऐन अनुसार कुलपति, उपकुलपति चयन गर्नु अगाडि प्रज्ञासभाको सदस्य र प्रज्ञाप्रतिष्ठानको पदाधिकारीको मनोनयन र नियुक्तिको लागि उपप्रमुखको संयोजकत्वमा समिति निर्माण गर्नुपर्छ । सो समितिमा सम्बन्धित क्षेत्रका विज्ञहरूबाट महानगर प्रमुखले तोकेका २ जना सदस्य हुने व्यवस्था रहेको छ । समितिले प्रज्ञा सभा गठनको लागि नामहरु मनोनीत गर्दछ । पोखरा प्रज्ञा प्रतिष्ठान ऐन २०७६ को पहिलो संशोधनमा यसरी मनोनीत नामहरु मध्येबाट कुलपति, उपकुलपति र सदस्य सचिव प्रमुखले तोके बमोजिम हुने व्यवस्था छ । गत फागुन १९ गतेबाट कार्यकाल पूरा भएपनि अहिलेसम्म सिफारिस समिति नै गठन हुन सकेको छैन ।
उपप्रमुख मञ्जुदेवी गुरूङले प्रमुखसँग कुरा राखेपनि प्रक्रिया अघि नबढेको स्रोतको भनाइ छ । यतिबेला महानगरका प्रमुख धनराज आचार्य वैदेशिक भ्रमणको शिलशिलामा अमेरिकामा छन् । उनका स्वकीय सचिव पुर्ण लामासँग याे विषयमा जिज्ञाशा राख्दा गठन गर्ने कुरा चलिरहेको बताए । ‘गठन गर्ने कुरा चलिरहेको छ, यो छिट्टै गठन हुन्छ होला, अनुकुलतामा हुन्छ’ लामाले भने ।