पोखरा । दर्शकबाट सकारात्मक उर्जा प्राप्त गर्दै नाटक जानकीको मञ्चन सम्पन्न भएको छ । पद्याप्रेम थिएटरको प्रस्तुतीमा तयार भएको यो नाटक पोखरा थिएटरको गन्धर्व नाटकघरमा गत भदौ २८ गतेबाट आजसम्म मञ्चन भएको थियो ।
शनिबार नाटक हेरे पश्चात प्रतिक्रिया दिँदै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्त श्रेष्ठले नेपाली जनजीवनको कथा व्यथालाई यथार्थ ढङ्गले प्रस्तुत गरिएको पाएको बताए । नाटक राम्राे लागेको भन्दै उनले आगामी दिनमा समेत यसप्रकारका नाटक हेर्ने अवसर पाउने आशा व्यक्त गरे ।
‘हाम्रै नेपाली जनजीवनको कथा व्यथालाई यहाँ यथार्थ रूपले प्रस्तुत गरिएको छ, यो किसिमका नाटकहरू भविष्यमा पनि हुँदै जाउन्’ उनले भने । पूर्व कुलपति श्रेष्ठले नाटकका लेखक, निर्देशक, सबै कलाकारहरू, सङ्गीत, प्रकाश व्यवस्थापक सहितका प्राविधिकहरूको कामको तारिफ गर्दै बधाई ज्ञापन समेत गरे।
पोखरा प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति पदमराज ढकालले नाटकले सकारात्मक सन्देश छर्न सफल भएको बताए । उनले कलाकारको अभिनय र नाटकले दिएको सन्देश महत्वपूर्ण रहेको बताए ।
‘हाम्रै कथा व्यथालाई यो नाटकले उजागर गरेको छ कलाकारहरूले नाटकमा आफ्नो जीवन्त अभिनय प्रस्तुत गर्नुभएको छ वास्तवमा काम सानो ठुलो हुँदैन सबै कामलाई सम्मान गर्नुपर्छ भन्ने एउटा सन्देश, आफ्नै देशमा बसेर केही गर्न सकिन्छ भन्ने सकारात्मक सन्देश पनि यो नाटकले दिएको छ’ उनले भने ।
यसरी नाटकबाट सकारात्मक प्रतिक्रिया र पछिल्ला ‘सो’ मा दर्शकको राम्रो साथ प्राप्त गरेपछि नाटक युनिट उत्साहित समेत बनेको छ । पद्याप्रेम थिएटरका अध्यक्ष सावित्रा पाठक सबुले लेखेको नाटकको निर्देशन गोविन्द पराजुली र शीतला अधिकारीले गरेका थिए ।
नाटकमा सबु सहित गोविन्द पराजुली, विभु प्रसाद भुसाल, ज्योति हमाल, शीतला अधिकारी, बुद्धिसागर खनाल, सुमन कार्की, मुना गुरुङ, विवेक गुरुङ, अभिषेक भुसाल, प्रदिप गौतम प्रमोद, अलिसा थापालगायतले अभिनय गरे ।
नाटकमा जय चापागाईंको सङ्गीत, सन्दिप तिवारीकाे पोष्टर डिजाइन, हेमन्त पराजुलीकाे मञ्च व्यवस्थापन रहेको थियो । पद्माप्रेम थिएटरको पहिलो वार्षिकोत्सवको अवसरमा यो नाटक मञ्चन गरिएको हो ।