पोखरा । पोखरामा रिडर्स अपरच्युनिटी मेला सुरु भएको छ । हिमालय रिडर्स कर्नर पोखराले दशैँको छेको पारेर पठन संस्कृतिमा रूचि राख्ने पाठकलाई ध्यान दिँदै मेला आयोजना गरेको हो ।
‘हामीले विगतको वर्ष जसरी नै यो वर्ष पनि पुस्तकमा दशैँ विशेष छुट भनेर सुरु गरेका छौँ । यो हाम्रो सातौँ दशैँ विशेष छुट प्रोग्राम हो । यसलाई हामीले रिडर्स अपरच्युनिटी मेला भनेर नाम दिएका छौँ’ कोटखबरसँग हिमालय रिडर्स कर्नरका सञ्चालक विजय भण्डारीले भने ।
‘रिडर्स अपरच्युनिटी मेला’ नामले नै पाठकले ‘अपरच्युनिटी’ पाउने बेला हो भनेको भन्दै यसको फाइदा लिन आग्रह गरे । यो मेला आयोजना गर्नुको कारण दुईवटा रहेको सुनाए । एउटा दशैँ फुर्सदिलो समय हुन्छ त्यसकारण पाठकले किताब पढ्न सक्छन् । र, अर्को दशैँमा राम्रा किताब आउँछन् ।
आफूहरूले सबै किताब राम्रो नै बेच्ने गरेपनि अझै विशेष तरिकाले राम्रा किताबहरू दशैँमा पब्लिकेसन्स हाउसले पाठकमाझ ल्याएका हुने र यसको फाइदा पाठकलाई दिन खोजेको उनको भनाइ छ । पाठकलाई खुशी बनाउने र पठन संस्कृतिबारेको आकर्षण बढाउने आफ्नो ध्येय रहेको दावी उनले गरे ।
‘अब रेगुलर डिस्काउन्टमा त दिइनै रहेका हुन्छौँ, सधैँ विशेष डिस्काउन्टमा बेच्न सकिँदैन, पाठकलाई हामीले अलि बढी सुविधा प्रदान गर्न सकौँ, पाठक अझै खुशी हुन सकोस् र आफूले पढेको मजा लिन सकोस्, राम्रो किताबमा राम्रो डिस्काउन्टमा भनेर सुरु गरेका छौँ’ उनले थपे ।
रिडर्स कर्नरले जति धेरै खरिद उति धेरै छुटमा किताब उपलब्ध गराएको छ । जस अनुसार ५ हजार भन्दा माथिको खरिदमा २५ प्रतिशतसम्म छुट उपलब्ध हुनेछ । १ हजार ९ सय ९९ सम्मको खरिदमा १० प्रतिशत, २ हजार देखि ३ हजार ४ सय ९९ सम्मको खरिदमा १५ प्रतिशत, ३ हजार ५ सय देखि ४ हजार ९ सय ९९ रुपैयाँ सम्मको खरिदमा २० प्रतिशत छुट पाइनेछ ।
लामो समयदेखि स्टकमा रहेका किताबमा ५० प्रतिशत छुट दिइएको छ । राम्रो किताब पढ्न छुटेको छ भने यो छुटको फाइदा लिएर पढ्न सकिन्छ ।
पाठकहरूको क्रेजका कारण वर्षेनी मेला आयोजना गर्न उत्साहित बनेको उनले खुलाए । मेलालाई निरन्तर आयोजना गर्ने योजना बनेको समेत सुनाए ।
‘किताबमा काम गर्न थालेको १३-१४ वर्ष भयो, सातौँ वर्षसम्म मेला गर्नुको कारण क्रेज बढिरहेको छ, दशैँमा किन्छु, लामो छुट्टी हुँदा मजाले पढ्छु, अरु काम भन्दा किताब पढ्न समय छुट्याएको हुन्छ के, त्यसको लागि धेरै किताब किनोस् र बजेट पनि राम्रो हुन्छ दशैँको आसपास, अनि त्यसलाई फोकस गरेर हामीले निरन्तर गरिरहेका छौँ र यो गरिरहने पनि छौँ’ उनले भने । असोज १ गतेबाट सुरू भएको मेला असोज २४ गतेसम्म चल्नेछ ।