पोखरा । पोखरा उद्योग वाणिज्य सङ्घको ३६औँ महाधिवेशनमा उद्योगतर्फको उपाध्यक्ष पदका उम्मेदवार ललितबहादुर कुँवरले चुनावी अभियानलाई तीव्र बनाएका छन् । बलराम आचार्य नेतृत्वको प्यानलबाट उम्मेदवारी दिएका कुँवरले सङ्घमा आफ्नो लामो सक्रियता, व्यवसायीहरूसँग व्यक्तिगत सम्बन्ध र विगतमा निर्वाह गरेका जिम्मेवारीका आधारमा व्यवसायीको साथ पाउने विश्वास व्यक्त गरेका छन् ।
२०५७ सालदेखि व्यवसाय क्षेत्रमा प्रवेश गरेका कुँवरले इलेक्ट्रोनिक्स व्यवसायबाट आफ्नो व्यावसायिक यात्रा सुरु गरेका थिए । त्यसपछि खाद्यान्न, कृषि तथा पर्यटनलगायतका क्षेत्रमा समेत लगानी र संलग्नता विस्तार गर्दै आएका छन् । होटल लुना, लालुपाते कृषि फर्म र आभाष ट्रेडर्सलगायतका व्यवसायिक प्रतिष्ठानसँग उनी जोडिएका छन् ।
व्यवसायसँगै सामाजिक क्षेत्रमा समेत सक्रिय कुँवरले युवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन् । उनले आगामी दिनमा २० हजार युवालाई रोजगारी प्रदान गर्ने लक्ष्यसहित युवालाई स्वदेशमै केही गर्न सक्ने वातावरण निर्माण गर्ने अभियानमा लाग्ने बताएका छन् ।
पोखरा उद्योग वाणिज्य सङ्घमा करिब १२ वर्षअघि प्रवेश गरेका कुँवरले सङ्घका विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका छन् । अघिल्लो कार्यकालमा सांस्कृतिक उपसमितिलगायतका जिम्मेवारी सम्हालेका उनी वर्तमान कार्यसमितिमा निर्वाचित सदस्य हुन् । वर्तमान कार्यकालमा सङ्घको मेलाको सांस्कृतिक समितिको संयोजकको जिम्मेवारी दुई पटक सम्हाल्दै कलाकार तथा विभिन्न पक्षसँग समन्वय र सहयोग जुटाउने काममा सक्रिय रहेको सङ्घभित्र चर्चा छ ।
मेलामा सहभागी कलाकारलाई चेकमार्फत पारिश्रमिक भुक्तानीको व्यवस्था गर्न भूमिका खेलेर आर्थिक पारदर्शितामा समेत जोड दिएको कुँवरको दाबी छ ।
अघिल्लो महाधिवेशनमा १ हजार ५३९ मत प्राप्त गर्दै सदस्य पदमा सर्वाधिक मतसहित निर्वाचित भएको तथ्यलाई पनि उनले व्यवसायीको विश्वासको आधारका रूपमा लिएका छन् । यही अनुभव र व्यवसायीहरूसँग निरन्तर सम्पर्कलाई आगामी निर्वाचनमा आफ्नो बलियो पक्षका रूपमा प्रस्तुत गर्दै कुँवर मतदातामाझ पुगिरहेका छन् ।
पोखरा उद्योग वाणिज्य सङ्घको गरिमा र प्रभावलाई उचाइमा पुर्याउन उम्मेदवारी दिएको उनले बताएका छन् । सङ्घमा आबद्ध व्यवसायीको सङ्ख्या वृद्धि गर्दै संस्थाप्रति सबै व्यवसायीको अपनत्व बढाउने आफ्नो लक्ष्य रहेको उनको भनाइ छ ।
कुँवरले उद्योगी–व्यवसायीको हकहितको प्रभावकारी संरक्षण, उद्योग क्षेत्रमा लगानीमैत्री वातावरण, साना तथा घरेलु उद्योगको प्रवर्द्धन, युवा उद्यमशीलता, रोजगारी सिर्जना तथा उद्योग–व्यापार–पर्यटनबीचको समन्वयलाई आफ्नो प्राथमिकतामा राखेका छन् ।
आफ्नो लामो व्यावसायिक तथा संघीय यात्राका क्रममा बनाएको सम्बन्ध र विगतमा निर्वाह गरेका जिम्मेवारीले आफूलाई व्यवसायीमाझ स्थापित गराएको भन्दै कुँवरले यसपटक पनि व्यवसायीको साथ र विश्वास प्राप्त हुने अपेक्षा गरेका छन् । उनी सङ्घका बैठक तथा कार्यक्रममा सक्रियतापूर्वक सहभागी हुँदै आएका छन् ।
पोखरा उद्योग वाणिज्य सङ्घको ३६औँ महाधिवेशन भदौ २० र २१ गते हुँदैछ । उद्योगतर्फको उपाध्यक्ष पदमा उम्मेदवारी दिएका कुँवरले आफ्नो अमुल्य मत प्रदान गरेर साथ दिनको लागि संघमा आवद्ध व्यवसायीसँग आग्रह गरेका छन् ।















