पोखरा । अन्तर्राष्ट्रिय युवा दक्षता दिवसको अवसर पारेर पोखरा महानगरपालिका–२८ को प्रवेशद्वारसँगै रहेको पार्कमा सरसफाइ गरिएको छ। पोखरा–२६ र २८ को सिमानामा रहेको उक्त पार्क लामो समयदेखि बेवास्तामा परेपछि सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीकी प्रथम उपाध्यक्ष तथा पोखरा महानगर नगर युवा परिषद्की कार्यकारी सदस्य विष्णु सुवेदीको नेतृत्वमा सरसफाइ गरिएको हो।
सरसफाइसँगै लामो समयदेखि खाली रहेको झण्डाको पोलमा राष्ट्रिय झण्डा समेत राखिएको छ। सुवेदीले यो अभियान केवल पार्क सफा गर्ने उद्देश्यले नभई युवामा सामाजिक उत्तरदायित्व, नागरिक कर्तव्य र सार्वजनिक सम्पत्तिप्रतिको अपनत्वको भावना विकास गराउने सन्देश दिनका लागि गरिएको बताइन्।
उनका अनुसार सार्वजनिक स्थल सबैको साझा सम्पत्ति भएकाले यसको संरक्षण र व्यवस्थापनमा सरकारी निकायसँगै नागरिकको पनि समान जिम्मेवारी हुन्छ। ‘कुनै पनि काम अरूले गरिदेला भनेर पर्खनुभन्दा आफूबाट सुरु गरौँ भन्ने सन्देश दिन चाहेको हुँ’ उनले भनिन्। अन्तर्राष्ट्रिय युवा दक्षता दिवसका अवसरमा युवाहरूलाई समाजप्रति जिम्मेवार बन्न प्रेरित गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको उनले स्पष्ट पारिन्।
सुवेदीले सामाजिक भावना र सामाजिक चेतनासँग जोडिएका विषयमा आफूले सधैं चासो राख्ने गरेको बताउँदै विगत डेढ दशकदेखि विभिन्न सामाजिक उत्तरदायित्वका गतिविधिमा सक्रिय रूपमा संलग्न रहँदै आएको जानकारी दिइन्। उनका अनुसार युवाले केवल सीप र क्षमता हासिल गर्नु मात्र पर्याप्त नभई समाजका साझा सम्पत्तिको संरक्षण र सकारात्मक परिवर्तनका अभियानमा पनि अग्रसर हुन आवश्यक छ।
स्थानीयले पोखरा महानगरपालिका–२८ का वडाध्यक्ष तथा जनप्रतिनिधिलाई पटक–पटक उक्त पार्कको सरसफाइ, प्रवेशद्वारको मर्मत तथा झण्डा व्यवस्थापनका लागि आग्रह गरे पनि आवश्यक पहल हुन नसकेको गुनासो गरेका छन्।
पोखरा–२८ को प्रवेशद्वारमा डिजिटल अक्षरमार्फत ‘पोखरा–२८ मा स्वागत छ’ भन्ने सन्देश राखिएको थियो। तर लामो समयदेखि मर्मत नहुँदा डिजिटल अक्षर बिग्रिएको छ भने प्रवेशद्वारसमेत जीर्ण बन्दै गएको स्थानीय बताउँछन्। यसले पोखरा–२८ को पहिलो छाप नै कमजोर बनाएको उनीहरूको भनाइ छ।

स्थानीयका अनुसार तत्कालीन वडाध्यक्ष निर्मल दियालीको कार्यकालमा प्रवेशद्वार, पार्क तथा झण्डासहितको संरचना निर्माण गरिएको थियो। तर त्यसपछि आवश्यक मर्मत–सम्भार र नियमित हेरचाह हुन नसक्दा संरचना क्रमशः जीर्ण बन्दै गएको छ। हालका वडाध्यक्ष श्रीकृष्ण लामिछाने निर्वाचित भएर आएपछि पनि यसतर्फ पर्याप्त ध्यान नदिइएको स्थानीयको गुनासो छ।
स्थानीयवासीले सार्वजनिक सम्पत्तिको संरक्षणमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै प्रवेशद्वारको तत्काल मर्मत, डिजिटल बोर्ड सञ्चालन, पार्कको नियमित सरसफाइ र हरियाली संरक्षण गर्न माग गरेका छन्।
सुवेदीको यो अभियानले एउटा महत्वपूर्ण सन्देश दिएको छ । समाज परिवर्तनको सुरुवात सधैं सरकारबाट मात्र हुनुपर्छ भन्ने छैन, एउटा जिम्मेवार नागरिकको सानो पहलले पनि ठूलो चेतना फैलाउन सक्छ। सार्वजनिक सम्पत्तिको संरक्षण केवल सरकारी निकायको दायित्व नभई हरेक नागरिकको साझा जिम्मेवारी हो भन्ने उदाहरण यो अभियानले प्रस्तुत गरेको छ।
विशेषगरी अन्तर्राष्ट्रिय युवा दक्षता दिवसका अवसरमा गरिएको यो कार्यले युवालाई सीपसँगै सामाजिक उत्तरदायित्व, नेतृत्व क्षमता र स्वयंस्फूर्त सहभागिताको महत्व बुझाउने सशक्त सन्देश दिएको छ। सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्रसङ्घको साधारण सभाले जुलाई १५ लाई विश्व युवा दक्षता दिवसका रूपमा मनाउने सङ्कल्प गरेपछि यो दिवस विश्वभर मनाउन थालिएको हो। विशेषगरी युवा जनशक्तिलाई आवश्यक सीप, प्रविधि र रोजगारीसँग जोड्ने उद्देश्यले यो दिवसले विश्वव्यापी बहस सिर्जना गर्दै आएको छ।
















