पोखरा । कास्की प्रहरीले अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा संलग्न तीन वटा टिप्परलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मंगलबार (२०८३ असार ३० गते) राति करिब १०ः३५ बजे पोखरा महानगरपालिका–२५ स्थित सेती गण्डकी नदी किनार क्षेत्रमा अवैध रूपमा बालुवा उत्खनन भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बालुवा लोड गरिरहेका अवस्थामा तीन वटा टिप्पर नियन्त्रणमा लिएको हो।

प्रहरीले नियन्त्रणमा लिएका टिप्पर तथा चालकलाई आवश्यक कारबाहीका लागि पोखरा महानगरपालिकाको कार्यालय पठाएको थियो। महानगरपालिकाले उनीहरूलाई जनही रु. १५ हजारका दरले कुल रु. ४५ हजार जरिवाना गरी छाडिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विरेन्द्र कुमार पासवानले जानकारी दिए ।

नियन्त्रणमा परेका सवारीसाधनमध्ये ग १ क ४४७१ नम्बरको टिप्पर लामाचौर निवासी २६ वर्षीय सुजन गुरुङले चलाएका थिए। त्यसैगरी जिएए ००७६ नम्बरको टिप्पर सिपानी निवासी २६ वर्षीय विकास घर्तीले चलाएका थिए भने जिएए ०१२४ नम्बरको टिप्पर याम्दी निवासी २९ वर्षीय राजु मगरले चलाएका थिए।

जिल्ला प्रहरी कार्यालय कास्कीले नदी तथा खोलाबाट अवैध रूपमा ढुंगा, गिट्टी, बालुवा लगायत नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार गर्ने कार्य कानुनविपरीत भएकाले यस्ता गतिविधि नियन्त्रणका लागि नियमित निगरानी र कारबाहीलाई निरन्तरता दिइने जनाएको छ। साथै यस्ता अवैध गतिविधिको जानकारी भएमा तत्काल प्रहरीलाई सूचना दिन पनि सर्वसाधारणसँग आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0