बागलुङ । जैमिनी नगरपालिका लाई बालमैत्री शासनयुक्त नगरपालिका घोषणा गरिएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार आयोजित कार्यक्रममा नगरलाई औपचारिक रूपमा बालमैत्री घोषणा गरेका हुन् ।
कार्यक्रममा मुख्यमन्त्री पाण्डेले बालमैत्री नगरपालिका घोषणा मात्र पर्याप्त नभई बालअधिकारको दीर्घकालीन संरक्षणमा सबै पक्षको निरन्तर भूमिका आवश्यक हुने बताए । उनले स्थानीय तहलाई नियमित बजेट, कार्यक्रम र अनुगमनलाई अझ प्रभावकारी बनाउन आग्रह गरे ।
५१ सूचक पूरा भएपछि घोषणा
स्थानीय सरकार सञ्चालन ऐन तथा सङ्घीय मामिला मन्त्रालयको निर्देशिका अनुसार तोकिएका ५१ सूचक पूरा गरेपछि कुनै पनि स्थानीय तहलाई बालमैत्री घोषणा गर्न सकिने व्यवस्था छ । जैमिनी नगरपालिकाले जन्मदर्ता, पूर्ण खोप, शिक्षामा पहुँच, कुपोषण न्यूनीकरण, बालविवाह रोकथाम र बाल सहभागिता जस्ता सूचक पूरा गरेको जनाइएको छ।
नगर उपप्रमुख हरिहर शर्माका अनुसार शिक्षा र स्वास्थ्य क्षेत्रका अधिकांश सूचक विद्यालय र स्वास्थ्य संस्थाबाट कार्यान्वयन भइसकेका छन् । समुदाय तहमा पनि सचेतना, कानुनी शिक्षा र बाल क्लब सञ्जालमार्फत कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए ।
बाल सहभागिता र शिक्षा क्षेत्रमा सुधार
नगर क्षेत्रमा वडा तथा नगरस्तरीय बाल क्लब सञ्जाल गठन गरिएको छ । साथै विद्यालय तहमा बालमैत्री स्रोत शिक्षक, फोकल पर्सन, नियमित बैठक प्रणाली, छात्रवृत्ति तथा शैक्षिक गुणस्तर सुधारका कार्यक्रम सञ्चालनमा छन् ।
विद्यालयका शौचालय, खानेपानी, पुस्तकालय र सरसफाइ सुविधामा सुधार गरिएको जनाइएको छ । तर बालविवाह अझै पनि प्रमुख चुनौतीका रूपमा रहेको नगर शिक्षा अधिकृतले बताएका छन् ।
अन्य विकास र कार्यक्रम
घोषणा कार्यक्रममा नगरपालिकाले अभिभावकको संरक्षणमा रहेका ४ जना बालबालिकालाई ‘उज्यालो जैमिनी अभियान’ अन्तर्गत सामग्री हस्तान्तरण गरेको थियो । साथै विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति पनि दिएका थिए ।
नगर प्रमुख नरबहादुर पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख अमर थापा तथा छिमेकी पालिका प्रमुखहरूको सहभागिता थियो ।
बागलुङका स्थानीय तहहरूमा यसअघि नै बागलुङ नगरपालिका र गलकोट नगरपालिका बालमैत्री घोषणा भइसकेका छन् । जैमिनी नगरपालिका गण्डकी प्रदेशको पाँचौँ तथा देशभरको ३०औँ बालमैत्री स्थानीय तह बनेको छ।
















