पोखरा । गजेन्द्र भण्डारी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकार लालप्रसाद शर्मा सम्मानित भएका छन् ।
नेपाल पत्रकार महासंघ, कास्कीद्वारा सञ्चालित गजेन्द्र भण्डारी परिवारबाट स्थापित उक्त पुरस्कारबाट पत्रकार शर्मा सम्मानित भएका हुन् ।
नेपाल पत्रकार महासङ्घ कास्कीको १८ औं साधारण सभा समेतको अवसरमा आइोजित कार्यक्रममा उनलाई गण्डकी प्रदेशका कृषि, भूमि तथा सहकारी व्यवस्था मन्त्री भीम कार्की, पुरस्कार स्थापनाकर्ता भण्डारी परिवार, नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष माधव बराललगायतले नगद २५ हजार रुपैयाँ, सम्मान पत्र र दोसल्लाले सम्मान अर्पण गरेका हुन् ।
नेपाल पत्रकार महासङ्घ, कास्कीका पूर्वअध्यक्ष नारायण कार्कीको संयोजकत्वमा सदस्यहरू भरत कोइराला, रूपनारायण ढकाल, माधव बराल र भूपाल गुरुङ सदस्य रहेको छनौट समितिले उनको पत्रकार शर्माको नाम सम्मानका लागि सिफारिस गरेको थियो ।
पर्वतको कुस्मा नगरपालिका–१३, खौलालाँकुरी पर्वतमा वि.सं. २०३२ सालमा जन्मिएका लालप्रसाद शर्माले २०५४ सालदेखि पत्रकारिता सुरु गरेका हुन् । सुरुवाती दिनमा नारी सन्देश पत्रिकामा लेखरचना प्रकाशित गरी पत्रकारितामा लागेका शर्माले आदर्श समाज, नेपाल समाचारपत्र, पोखरा हटलाइन पत्रिका, निष्पक्ष अभिमत, कान्तिपुर दैनिकहुदैं उनी अहिले ढोरपाटन दैनिकमा सहसम्पादकको रुपमा कार्यरत छन् ।
सम्मानपछि पत्रकार शर्माले यस सम्मानले पत्रकारिता क्षेत्रमा लाग्न अझ प्रेरित गरेका बताए । कार्यक्रममा पुरस्कार स्थापनाकर्ता भण्डारी परिवारले उक्त पुरस्कारको अक्षयकोषमा थप १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए ।
















