पोखरा । पोखरा ५ पर्स्याङ स्थित शान्ति निकेतन स्कुलमा पूर्व आधारभूत तहका विद्यार्थीको दीक्षान्त समारोह सम्पन्न भएको छ । विद्यालयले शनिबार एक समारोहबीच पूर्व आधारभूत तह (यूकेजी)का ५४ जना विद्यार्थीलाई दीक्षित गरेको हो । यस्तै, विद्यालयमा अध्ययनरत नर्सरीदेखि कक्षा ९ सम्मका उत्कृष्ट विद्यार्थीलाई शैक्षिक पुरस्कार पनि वितरण गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका, शिक्षा महाशाखाका शिक्षा अधिकृत सोमनाथ भण्डारीले विद्यालयले प्राप्त गरेको शैक्षिक उपलब्धिलाई मुक्तकण्ठले प्रशंसा गरे । भण्डारीले पोखरा महानगरका सयौँ विद्यालयमध्ये शान्ति निकेतन स्कुल नतिजाका आधारमा टप टेन स्कुलभित्र रहेको उल्लेख गरे । भौतिक पूर्वाधारको सुविधा सहित गुणस्तरीय शिक्षाका लागि शान्ति निकेतन अघि बढेकोमा उनले शुभकामना दिए ।
विद्यालयका संस्थापक प्राचार्य डा. महेश्वर पराजुलीले अभिभावकहरूसँग विद्यालयको प्रगतिको खुशी साट्दै आगामी योजनाबारे जानकारी गराए । २०६२ सालमा स्थापित स्कुलले २० वर्षे शैक्षिक यात्रामा गर्व गर्न लायक उपलब्धि हासिल गरिसकेको प्राचार्य पराजुली बताए ।
डा. पराजुलीले भने – ‘स्थानीय र राष्ट्रिय परीक्षाको नतिजा विश्लेषणमा पटक पटक सर्वोत्कृष्ट विद्यालय भई पुरस्कृत भइसकेको छ । एसइई परीक्षामा पटक पटक जिल्लामा उत्कृष्ट स्थानसहित ४ जिपिए हासिल गर्ने विद्यार्थीसमेत शान्ति निकेतनले उत्पादन गरिरहेको छ ।’
एकलधारामार्गमा अवस्थित यो विद्यालय अब ६० करोड बजार मूल्य बराबरको जग्गामा १५ करोड लागतमा अत्याधुनिक सुविधासम्पन्न भवन बनाएर धारापानी मार्गमा विस्तार गर्न लागेको पनि उनले बताए ।आगामी वैशाखदेखि नयाँ भवन प्रयोग गरिने र १२ कक्षासम्म विस्तार हुने पनि उनले बताए । अभिभावकहरूलाई थप सेवा सुविधाको सुविधासँगै शुल्क धेरै लाग्ने हो कि रु भनेर चिन्ता नलिन पनि उनले अनुरोध गरे ।
कार्यक्रमको अध्यक्षतासमेत गरेका विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णमणि भुर्त्यालले प्राचार्य र शिक्षकहरूको लगाव र विद्यार्थीको मेहनतले हासिल गरेको विद्यालयको शैक्षिक उपलब्धिमा सन्तुष्ट रहेको बताए । कार्यक्रमको सञ्चालन परीक्षा विभाग प्रमुख हेम सुवेदीले गरेका थिए । विद्यालयमा सर्वोत्कृष्ट विद्यार्थीहरू तथा शिक्षकहरूलाई पनि सम्मान गरिएको थियो ।















