पोखरा । रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्ज र पोखरा इन्टरनेटको संयुक्त आयोजनामा शनिवार भएको २४ औँ वृहत रक्तदान कार्यक्रममा १ सय ५० युनिट रगत सङ्कलन भएको छ ।
रेडियो र इन्टरनेटको संयुक्त आयोजनामा “रक्तदान म पनि गर्छु” भन्ने नारासहित रेडियो प्राङ्गण पोखरा–४ गैह्रापाटनमा भएको रक्तदान कार्यक्रममा १२० जना पुरुष र ३० जना महिला गरि १ सय ५० जनाले रक्तदान गरेको कार्यक्रम संयोजक सिता क्षेत्रीले बताइन्। तीमध्ये ३५ जना नयाँ रक्तदाता रहेका छन् ।
रक्तदान कार्यक्रमको उद्घाटन जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले पहिलो रक्तदाता रक्तदान अभियन्ता कृष्ण बहादुर थापालाई ब्लड ब्याग हस्तान्तरण गरेर गरेका थिए । अभियन्ता थापाले यो सँगै ८४ औँ पटक रक्तदान गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक कार्कीले जीवन बचाउन रेडियोले गरेको कामको प्रशंसा गरे । उनले रगतको विकल्प रगत मात्र भएकाले रगत आपूर्तिको एकमात्र माध्यम रक्तदान नै भएको बताए ।
रेडियोका प्रबन्ध निर्देशक सुनयना पालिखेले रेडियोले आफ्नो स्थापना कालदेखि नै सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदानको आयोजना गर्दैै आइरहेको बताइन् । उनले रक्तदान सबैभन्दा पुण्य काम भएको बताउँदै यो कार्यक्रमलाई निरन्तर दिदै जाने उल्लेख गरिन् ।
रक्तदान अभियन्ता कृष्ण बहादुर थापाले आफू स्वस्थ रहेको प्रमाणित गर्दै अर्काको जीवन बचाउने अभियान अन्तर्गत रक्तदान कार्यक्रम भएको बताए । रक्तदान गर्नुपर्छ भन्ने आम जनमानसमा जनचेतना फैलाउने काम रेडियोले गरेको उनले बताए ।
संयोजक क्षेत्रीले रक्तदानप्रति मानिसको भावनामा परिवर्तन ल्याउन स्थापनाकालदेखि नै रेडियोले रक्तदान गर्दै आइरहेको र यो अभियानकै रुपमा रहेको बताइन् ।
कार्यक्रममा रेडियोका अध्यक्ष विश्वशङ्कर पालिखे, पोखरा इन्टरनेटका प्रबन्ध निर्देशक बिजेश पालिखे, रेडियोका स्टेसन म्यानेजर सञ्जयकुमार मल्ल मार्केटिङ म्यानेजर नारायण पौडेल, पोखरा उद्योग वाणिज्य सङ्घका महासचिव शोभा गौतमले रेडियोले गरेका काम र रक्तदानको महत्व माथि प्रकाश परेका थिए । रक्तसञ्चार केन्द्र पोखरा र फिस्टेल नर्सिङले प्राविधिक सहयोग गरेका थिए ।
कार्यक्रमको सहकार्य सङ्घ संस्थाहरूमा पोखरा फाइनान्स लिमिटेड ,प्रभु बैँक लिमिटेड, नेपाल बैङ्क लिमिटेड, जोन्टा क्लब पोखरा, गुहेश्वरी मर्चेन्ट बैङ्किङ एण्ड फाइनान्स लिमिटेड, लायन्स क्लब अफ पोखरा सेन्टीनियल, सलिको इन्स्योरेन्स, नेपाल बिमा प्राधिकरण, रूपाकोट ज्योति सुनचाँदी पसल, लायन्स क्लब अफ पोखरा सेती गंगा, बराल फिड इन्ड्रष्टिज,नेलम्बो नेपाल, तालबाराही फामेर्सी, माइबुक्स स्टेसनरी, फिस्टेल नर्सिङ कलेज, चौधरी ग्रुप ,ग्रिन डेभलपमेन्ट बैँक लिमिटेड, अतिथि रिर्सोट एन्ड स्पा, बृज एडिटिभ्स,दिब्य नयन आँखा घर न्युरोड, पेनगुइन पानी रहेका थिए।















