पोखरा । कास्की जिल्लामा प्रतिनिधि सभा निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको छ । मतपेटिका, मतपत्रसहितका निर्वाचन सामग्रीसहित मतदान अधिकृतसहितका कर्मचारीहरू मतदान केन्द्रमा प्रस्थान गरेका छन् । प्रदेश निर्वाचन कार्यालय पोखराका निर्वाचन अधिकारी नारायण ढकालका अनुसार मतपेटिका लगायत निर्वाचन सामाग्रीहरू निर्वाचन कार्यालयबाट र मतपत्र निर्वाचन अधिकृतको कार्यालयबाट बुझेर मतदान अधिकृतहरू मतदानस्थलतर्फ प्रस्थान गरेका हुन् । मतदान अधिकृतहरू आज नै मतदान केन्द्रमा पुगेर चार किल्लाको सूचना र मदिरा निषेधको सूचना टाँस गरेका छन् ।
यसका अलवा मतदान अधिकृतसहितका कर्मचारीहरू मतदान केन्द्रमा पुगेपछि मतदान कार्यलाई सफल बनाउन सर्वपक्षीय बैठक आह्वान गर्ने छन् । त्यसपछि मतदान स्थल निर्माण गर्ने लगायतका काम हुने छ ।
फागुन २१ गते बिहीबार हुने मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने छ । गण्डकीका ११ जिल्लामध्ये कास्कीमा सबैभन्दा धेरै १ सय ५३ मतदान स्थल रहेका छन्। जहाँ ३ सय ६३ मतदान केन्द्र कायम गरिएका छन्। कास्कीमा पनि सामान्यदेखि अति संवेदनशीलजस्ता मतदान केन्द्र रहेको ढकालले जानकारी दिए।

निर्वाचन अधिकारी ढकालका अनुसार फागुन २१ गते मतदान सम्पन्न भइसकेपछि सिल गरिएको मतपेटिकालाई मतगणनास्थलसम्म सुरक्षित ढुवानीको समेत सम्पूर्ण तयारी पुरा भएको छ ।
ढकालले शान्ति सुरक्षा चुस्त बनाइएकोले ढुक्क भएर मतदान कार्यमा सहभागी हुन आग्रह गरे । उनका अनुसार मतदाता सूचीमा नाम भएका तर मतदाता परिचयपत्र नभएका मतदाताले ६ प्रकारका परिचय खुल्ने सरकारी कागजातको प्रयोग गरेर पनि मतदान गर्न पाइने जानकारी दिए । मतदाताले नागरिकता वा सवारी चालक अनुमतिपत्र, धनीपूर्जा र राष्ट्रिय परिचयपत्रबाट पनि मतदान गर्न पाइन्छ ।

















