लेखनाथ । नेपाली काँग्रेस कास्की क्षेत्र नं १ ले चुनाव केन्द्रित युवा परिचालनका लागि वृहत युवा भेला सम्पन्न गरेको छ। युवा परिचालन उपसमितिका संयोजक डमरजंग गुरुङको अध्यक्षतामा सम्पन्न भएको युवा भेलामा बोल्दै उम्मेदवार तिलक रानाभाटले अबको विकास युवा मैत्री र युवा नेतृत्वमा केन्द्रित बन्नुपर्नेमा जोड दिएका हुन्। उनले युवाहरूको सहभागिताबाट मात्रै विकास सम्भव भएको भन्दै सबै ठाउँहरूमा युवाहरूको समान सहभागिता हुनुपर्ने आवश्यकता औंल्याए।
युवा भेलामा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य कृष्णबहादुर केसी, पूर्वमन्त्री यज्ञबहादुर थापा, कास्की जिल्ला सभापति किशोर दत्त बराल, प्रदेश सांसद सरस्वती गुरुङ, नेपाल विद्यार्थी सङ्घका नेता रसिस हरि भण्डारी, पोखरा महानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष सन्तोष बास्तोला, मादी गाउँपालिका अध्यक्ष देवीजङ्ग गुरुङ, महासमिति सदस्य दीपक गुरुङ माइला, क्षेत्रीय सभापति राजेन्द्रमणि लामिछाने लगायतले नेपाली कङ्ग्रेसका उम्मेदवारलाई विजयी गराउनको लागि सबै युवा हरू एक भएर लाग्नुपर्नेमा जोड दिएका हुन्।
कार्यक्रमको स्वागत मन्तव्य गर्दै महाधिवेशन प्रतिनिधि एवं युवा नेता सुरजजंग राणाले युवाहरूको आशा र भरोसा नै तिलक रानाभाट रहेकोले सबैले रूख चिन्हमा मतदान गरेर भव्यताका साथ विजयी गराउन लागि अनुरोध गरेका हुन् । कार्यक्रमको सञ्चालन नेपाल विद्यार्थी सङ्घ कास्कीका सभापति राजीव भण्डारीले गरेका थिए।
















