पोखरा ।  कास्की क्षेत्र नम्बर १ मा नेकपा एमालेको उम्मेदवारले प्रयोग गरेका दुईवटा गाडी तोडफोड भएको छ । मादी गाउँपालिका वडा नम्बर ११ को उपल्लो साप्लेमा उम्मेदवारले प्रयोग गरेका दुईवटा गाडी तोडफोड भएका हुन् । एमाले कास्की क्षेत्र नम्बर १ का उम्मेदवार बैन बहादुर क्षेत्रीको चुनावी अभियानमा रहेका सवारी साधनमा क्षति पुगेको छ । ढुङ्गा प्रहारबाट बा ९ च ८९२८ नम्बरको फर्चुनर र ग ४ प १०१५ नम्बरको हाइलेण्डर गाडीका सिसा फुटेका छन् ।

मादी गाउँपालिकामा चुनावी कार्यक्रम सञ्चालन भइरहेका बेला पार्किङमा राखिएका गाडी तोडफोड भएको एमाले मादी गाउँपालिकाका अध्यक्ष सुवास सापकोटाले जानकारी दिए । उनका अनुसार पार्किङस्थलमा रहेका गाडीमा अचानक ढुङ्गा प्रहार गरी क्षति पुर्‍याइएको हो । ढुङ्गा लागेर सवारीको सिसा फुट्नुका साथै क्षति पुगेको उनले बताए ।

नेपाली काङ्ग्रेस निकट रिदम गुरुङको नेतृत्वमा आएको टोलीले तोडफोड गरेको सापकोटाले आरोप लगाए । सापकोटाले भने, ’साप्लेमा चुनावी कार्यक्रम चलिरहेको थियो, त्यही समयमा पार्किङमा राखिएका सवारी तोडफोड गरे ।’ नेपाली काङ्ग्रेस निकट तरुण दलका कार्यकर्ताले योजनाबद्ध रुपमा आक्रमण गरेको उनले बताए । एमालेले उक्त घटनाको विरोध गर्दै दोषीमाथि कारबाहीको माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0