पोखरा । यहीं फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारी कास्कीमा तीव्र पारिएको छ । जसको लागि मतदान केन्द्रहरूमा खटिने कर्मचारी खटन पटन भइसकेको छ । सोमबारबाट मतदान केन्द्रहरूमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतको लागि तालिम दिइने प्रदेश निर्वाचन कार्यालय गण्डकीका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।
मतदान अधिकृत, सहायक मतदान अधिकृतहरूको लागि तालिम जनप्रिय बहुमुखी क्याम्पसमा हुनेछ । कास्कीमा रहेका ३ वटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा पहिले निर्वाचन क्षेत्र नं. १ मा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृतलाई सोमबार तालिम दिइने छ । यस्तै क्षेत्र नं। ३ का खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृतको लागि मंगलबार र क्षेत्र नं. २ मा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृतलाई फागुन १३ गते बुधबार तालिम प्रदान गरिने छ ।
न्यौपानेका अनुसार एउटा मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, ३ जना सहायक कर्मचारी र एकजना कार्यालय सहयोगी गरी कुल ६ जना कर्मचारी खटिने छन् । कास्कीमा दुईवटा अस्थायीसहित कुल ३ सय ६५ वटा मतदान केन्द्रहरू रहेका छन् । मतदान अधिकृतले ३ जना स्वयंसेवक नियुक्त गर्न सक्ने व्यवस्था रहेको छ । कास्कीमा कैदीबन्दीका लागि कास्की जिल्ला कारागारभित्रै र मतदानमा नखटिने कर्मचारीहरूका लागि जिल्ला समन्वय समिति कास्कीमा अस्थायी मतदान केन्द्रको व्यवस्था गरिने छ ।

तालिम प्रदान गरिसकेपछि टाढाका कर्मचारीहरू फागुन १७ गते र नजिकका कर्मचारीहरू फागुन १८ गते मतदान स्थलमा पुगेर जिम्मेवारी सम्हाल्ने छन् । कास्कीका ७२ वटा वडासहित गण्डकी प्रदेशभरि फागुन ३ गतेदेखि मतदाता शिक्षाको काम जारी छ ।
कास्कीसहित गण्डकीका सबै जिल्लामा मतपत्रसहित निर्वाचन सामग्रीहरू आइपुगिसकेको अवस्था छ । ती सामग्रीहरू वर्गीकरण गरि सम्बन्धित मतदान केन्द्रमा पठाउन तयारी अवस्थामा राखिएको समेत सूचना अधिकारी न्यौपानेले जानकारी दिए ।
















