पोखरा । कास्की जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा नेकपा एमालेका तर्फका उम्मेदवार वैन बहादुर क्षेत्री अधिकारीले मतदाता भेटघाट सहितका अन्तरक्रियात्मक कार्यक्रम गरिरहेका छन् । मतदाताका कुरा सुन्ने, आफ्ना योजना सुनाउने, विगतमा गरिएका कामको फेहरिस्त सुनाउने मात्र नभएर मतदाताले दिएका सल्लाह सुझाबलाई मनन गर्दै प्रतिवद्धता गरिरहेका छन् ।
कास्की १ को भूगोललाई बुझेको र जनताका आवश्यकताबारे जानकार रहेका कारण समेत उनीप्रति मतदाताको आकर्षण बढिरहेको दावी एमालेको छ । आइतबार पोखरा २६ का भवानी चोक, लक्ष्मी मावि आसपास, पानी ट्याङ्ककी, साँघुको मुख, जल्लारे, गुँदेताल, सक्नेरी, भण्डारी टोल, खराने लगायतका ठाउँमा उनी पुगेका थिए । उनी पुग्दा त्यहाँका मतदाताले स्वागत गर्नुका साथै जितको शुभकामना तथा आशीर्वाद दिएका थिए ।
मतदाता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा भ्रमको पछाडि नलागिकन एमालेले विगतमा गरेका काम हेर्न आग्रह समेत गरेका छन् । ‘पृथ्वी राजमार्ग कस्तो थियो? कस्तो बन्यो? बेगनास जाने बाटो कस्तो थियो? कस्तो बन्दै छ? शिशुवा–देउराली–पोल्याङ जाने बाटो कस्तो थियो? कस्तो बन्यो? गालीमात्र गर्नुअघि एकपटक १० वर्षअघि फर्केर हेरौँ । काम नै नभएको, हुँदै भएन, केही भएन भन्ने भाष्यबाट भ्रममा नपरौँ ।’ उनको आग्रह छ । अहिले जनतालाई आर्थिक समृद्धिसँग जोड्न आवश्यक भएको भन्दै साेही अनुसारका योजना एमालेले बनाएको र एमाले काम गर्ने पार्टी भएको उनको दावी छ । विगतमा एमालेमा मत नदिएका मतदाता समेतले समर्थन र सहानुभूति गरिरहेकोले उर्जा थपिरहेको बताए ।
उम्मेदवार क्षेत्रीसँग कालिका गाविसको उपाध्यक्ष र जिसस कास्कीको प्रमुख भएर सफलतापूर्वक कार्य गरेको अनुभव रहेको छ । आफूले जिम्मेवारी पाउँदा जनताका अपेक्षालाई उपलब्ध साधन स्रोत अनुसार सम्बोधन गरेको कारण उनीप्रति मतदाताले आशा गरेका छन् ।
सरकारी जागिर त्यागेर राजनीतिमा होमिएका उनले २०३९ सालमा अनेरास्ववियुको सदस्यता लिएर आफ्नो राजनीतिक यात्राको औपचारिक सुरुआत गरेका थिए । त्यसपछाडि निरन्तर राजनीतिक क्षेत्रमा क्रियाशील उनी नेकपा एमाले कास्कीका अध्यक्ष समेत हुन् । आफ्नो लामो राजनीतिक यात्रा र चुनावको अवसरमा मतदाता समक्ष प्रस्तुत गरेको प्रतिवद्धता पत्र समेतका आधारमा कास्की १ का मतदाताले सूर्य चिन्हमा मतदान गरेर विजयी गराउने उनको विश्वास रहेको छ ।
मतदाता भेटघाट सहितका अन्तरक्रियात्मक कार्यक्रम सोमबार पनि जारी रहनेछ । सोमबार पोखरा १४ लाई केन्द्रित गरिने बताइएको छ ।
















