पोखरा । आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर नेकपा एमाले कास्की क्षेत्र नं. १ मा सुरक्षा कमान्ड घोषणा गरिएको छ । नेकपा एमालेका सचिव तथा गण्डकी प्रदेशका इन्चार्ज खगराज अधिकारीको उपस्थितिमा कमान्ड घोषणा गरिएको हो । प्रतिनिधि सभा निर्वाचन सुरक्षा परिचालन उपसमिति क्षेत्र नं. १ कास्कीले आयोजना गरेको कार्यक्रम मार्फत विष्णु पुन कमान्डर रहेको सुरक्षा कमान्ड घोषणा गरिएको थियो । 

घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै सचिव अधिकारीले युवाहरूको व्यापक उपस्थितिले कार्यक्रम भव्य बनेको भन्दै  फागुन २१ को निर्वाचन कास्की १ सहित गण्डकी प्रदेशका अधिकांश जिल्लामा नेकपा एमालेका उम्मेदवारले विजयी हासिल गर्ने दावी गरे । उनले पार्टीले प्रदान गरेको जिम्मेवारीलाई कुशलतापूर्वक पुरा गरेर चुनावी अभियानमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिए ।

घोषणा गरिएको सुरक्षा कमान्डको हेडक्वार्टरमा तारा माया थापा, विकास अधिकारी, भूमिचन्द घिमिरे, रोशन छन्त्याल, सत्यराज सापकोटा, नवराज बराल, ईश्वर अधिकारी, नरेन्द्र नाथ ढुङ्गाना, विक्रम रायमाझी, प्रमिला बराल, शिवराज सुवेदी, राजु अधिकारी, भीम कुमारी गर्बुजा पुन, सूर्य लामा, ब्रजेश गुरुङ रहेका छन् ।

 जसमा ६ जनालाई कार्य विभाजन सहित कम्पनी कमान्डर तोकिएको छ । कम्पनी कमान्डरमा तारामाया थापा मगर, विकास अधिकारी, भूमिचन्द घिमिरे भुवन, रोशन छत्याल, नवराज बराल र सत्यराज सापकोटा छन् । यसलाई व्यवस्थित गर्न र प्रभावकारी बनाउन ६१ सदस्य निर्वाचन स्थल कमान्डर र ९ सय १० सदस्यीय सुरक्षा दस्ता समेत घोषणा गरिएको छ ।

एमालेले कास्की १ मा निर्वाचनलाई लक्षित गरेर वृहत मार्च पास निकालेको थियो । यसका अलावा कास्की क्षेत्र नं. १ का एमाले उम्मेदवार वैन बहादुर क्षेत्री अधिकारी यतिबेला मतदातासँग को भेटघाटमा व्यस्त रहेका छन् । विगतमा कालिका गाविसको उपाध्यक्ष र जिल्ला समन्वय समिति कास्कीको प्रमुख हुँदा कास्की क्षेत्र नं. १ को विकासमा खेलेको भूमिका लगायतका कारण समेत मतदाताले क्षेत्री प्रति आशा गरेका छन् ।

 नेकपा एमाले कास्कीको अध्यक्ष समेत रहेका उम्मेदवार क्षेत्रीले मतदाताले देखाएको सहानुभूति र मायाका कारण अत्याधिक मतका साथ विजय हुने विश्वास व्यक्त गरेका छन् । यो क्षेत्रमा गत २०७९ को निर्वाचनमा एमालेबाट मन बहादुर गुरुङ निर्वाचित भएका थिए । कास्की क्षेत्र नं. १ मा पोखरा महानगरपालिकाका ११ वडा सहित रूपा र मादी गाउँपालिका समावेश छ । कास्की  १ मा ६१ मतदान स्थल रहेका छन् ।   कास्की १ मा  १ स्वतन्त्र सहित १७ जना चुनावी मैदानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0