पोखरा । २५औं संस्करणको आहा रारा पोखरा गोल्डकप अन्तर्गत बिहीबार पोखरा रङ्गशालामा सम्पन्न खेलमा मनाङ मर्स्याङदी क्लबले विजयी सुरुवात गरेको छ । सशस्त्र प्रहरी बल एपीएफ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै मनाङ मर्स्याङदीले विजयी सुरुवात गरेको हो । विजेता बनेको मनाङले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ भने सुरुवाती अग्रता जोगाउन नसक्दा एपीएफले पराजय भोग्दै यात्रा टुङ्ग्याउन परेको छ।
खेलको ११औं मिनेटमा एपीएफका युवराज राईले सुरुवाती गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले पछि परेको मनाङले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्न सफल भयो।
५७औं मिनेटमा रोनिश ढेके राजबहाकले बराबरी गोल फर्काउँदै खेललाई १–१ को स्थितिमा ल्याए । त्यसको ठीक ९ मिनेटपछि, ६६औं मिनेटमा सुरेश कुमालले निर्णायक गोल गर्दै मनाङलाई २–१ को महत्वपूर्ण जित दिलाएका थिए । मनाङका रोनिश ढेके राजबहाक ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
प्रतियोगिता अन्तरगत शुक्रबार प्लानिङ ब्वाइज युथ क्लब र फ्रेन्ड्स क्लबका बीच खेल हुने आयोजक सहारा क्लब पोखराले जानकारी दिएको छ।
सहारा क्लब पोखराले आयोजना गरेको प्रतियोगिता फागुन ९ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको उपाधि विजेताले १४ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने छ भने उपविजेता टिमले ७ लाख १ हजार रुपैयाँ पाउनेछ । प्रतियोगितालाई हिमश्री फुड्सको उत्पादन आहा तथा रारा तयारी चाउचाउले प्रायोजन गरेको छ ।
















