पोखरा । पोखरामा पाठकलाई पठन संस्कृतितर्फ उर्जा प्रदान गर्दै आएको हिमालयन रिडर्स कर्नरको नयाँ शाखा रिडर्स क्याफे एण्ड रेष्ट्रो लेकसाईडमा सञ्चालनमा आएको छ । पोखरा ९ न्युरोडमा चिया–कफी र किताबसँगै साहित्यिक जमघट हुँदै आएको रिडर्स कर्नरको नयाँ शाखा आन्तरिक तथा विदेशी पर्यटकलाई लक्षित गरी सञ्चालनमा ल्याइएको हो । सञ्चालक भावना थपलियाका अनुसार थप सेवा सुविधासहित नयाँ शाखा लेकसाईडस्थित डिहिकोपाटनमा सञ्चालनमा आएको छ । 

सो क्याफेमा नेपालीसहित विभिन्न देशका  परिकारहरूको स्वाद चाख्दै, चिया, कफी पिउँदै निःशुल्क पुस्तक पढ्न सकिन्छ । क्याफे हरेक दिन बिहान ७ बजेदेखि बेलुका ११ बजेसम्म खुला रहने छ । सञ्चालन सुरु भएको छोटो समयमा नै नयाँ तथा पुराना ग्राहकहरू आउन थालेको र प्रतिक्रिया पनि राम्रो पाएको सञ्चालक थपलियाले भनाइ छ।

क्याफेमा पुस्तक बिक्री कक्ष थप व्यवस्थित बनाइने र केही समयमा नै सेमिनार हल बनाउने समेत उनले खुलाइन्। स-सानो बैठक एवं सभाहरू अहिले पनि सञ्चालन हुने थालिसकेका छन् । हाल क्याफेले एकपटकमा पचास भन्दा बढीलाई सजिलै सेवा दिन सक्ने जनाईएको छ भने यसलाई थप विस्तार समेत गरिदैछ।  

पोखराको गैह्रापाटनमा १४ वर्ष अगाडि हिमालयन रिडर्स कर्नर मार्फत साहित्यिक पुस्तक बिक्री सुरु गरेका विजय भण्डारीले पोखराको न्युरोडमा रहेको रिर्डस कर्नर सञ्चालनमा ल्याएका थिए । जहाँबाट नयाँ तथा पुराना अधिकांश कृति उपलब्ध हुन्छन् । बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म कर्नरमा बसेर निर्धक्कका साथ अध्ययन गर्न सकिन्छ । पाठकले यहाँ पुगेर कफी, सामान्य खाजा, कुकिज, चिया, लसी लगायतको स्वाद लिँदै आफ्नो अध्ययनको भोक मेटाउन पाउँछन् । हरेक दिन खुला रहने यसको विशेषता हो । 

न्युरोड पश्चात सेवा विस्तार गर्दै लेकसाइडमा यसलाई सञ्चालनमा ल्याएका हुन् । न्युरोडमा जस्तै लेकसाइडमा पनि साहित्य क्षेत्रमा रुचि राख्ने नयाँ तथा पुराना स्रष्टाको भेटघाटको थलो बन्ने उनको विश्वास छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0