पोखरा । २५ औ संस्करणको आहा रारा पोखरा गोल्डकपको उद्घाटन खेलमा आयोजक सहारा क्लब बिजयी भएको छ । सहारा क्लब पोखराको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहाराले पाहुना टोली गोर्खा इन्टरनेसनल फुटबल क्लब हङ्गकङलाई १–० गोल अन्तरले पराजित गर्दै बिजयी यात्रा शुरु गरेको हो । सहाराको जितमा प्रसन्न श्रेष्ठले निर्णायक गोल गरे । उनले निर्धारित ९० मिनेटको खेलको अतिरिक्त समयमा गोल गरेका थिए । विजयीसँगै सहारा क्वाटरफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलमा सहाराले नेपाल पुलिस क्लबको सामना गर्नेछ ।बिजयी गोल गरेका प्रसन्न मङ्गलबारको खेलको प्लेयर अफ द म्याच पनि घोषित भए ।
प्रतियोगितामा ३ विदेशीसमेत गरी १२ टिम सहभागी छन् । दुई समूहमा विभाजित गरिएको प्रतियोगिताको समूह ‘ए’मा नेपाल पुलिस क्लब, आयोजक सहारा क्लब पोखरा, गोर्खा इन्टरनेसनल फुटबल क्लब हङकङ, सशस्त्र प्रहरीको एपीएफ क्लब, मनाङमर्स्याङ्दी क्लब र थन्डरबोल्ट नर्थ युनाइटेड भारत रहेका छन् । त्यस्तै, समूह ‘बी’मा अपी पावर चर्च ब्वाइज युनाइटेड, जावलाखेल युथ क्लब, मच्छिन्द्र फुटबल क्लब, फ्रेण्ड्स क्लब, प्लानिङ ब्वाइज युनाइटेड र आभा एफसी उज्वेकिस्तान रहेका छन् ।
प्रतियोगिता अन्तर्गत बुधबार जावलाखेल युथ क्लबविरुद्ध मच्छिन्द्र फुटबल क्लब प्रतिष्पर्धामा उत्रिने आयोजक सहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए । यो खेल दिउँसो ४ बजेबाट सुरु हुनेछ । यसअघि मङ्गलबारदेखि शुरु भएको प्रतियोगिताको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका थिए । सो अवसरमा सहारा क्लबको रजत वर्षको अवसरमा क्लबको स्थापनाकालदेखि सहयोग गर्ने विभिन्न क्षेत्रका २५ जनालाई सम्मान गरिएको थियो । सो अवसरमा नेपाली महिला फुटबल टोलीकी स्ट्राइकर प्रीति राईलाई सर्वोत्कृष्ट वर्ष खेलाडी पुरस्कारबाट नगद ३५ हजारसहित पुरस्कृत गरिएको थियो ।
फागुन ९ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको विजेताले नगद १४ लाख १ हजार रुपैयाँसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ७ लाख १ हजार रुपैयाँसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । साथै अनुशासित टिम, उत्कृष्ट खेलाडी, गोलकिपर, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता, उदयमान खेलाडी तथा प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’ र भाग्यशाली दर्शकलाई समेत आकर्षक पुरस्कार प्रदान गरिने भएको छ । यस वर्षको सर्वोत्कृष्ट खेलाडीले टेल्जी इलेक्ट्रिक स्कुटर प्राप्त गर्नेछन्।
















