पोखरा । पोखरामा छठ मनाउन तयारी सुरु भएको छ । यसै क्रममा पोखराको फेवाताल किनार केदारेश्वर मन्दिरको क्षेत्रमा रहेको पार्वती छठघाटमा छठ पर्व मनाउन घाट निर्माण, रङ्गरोगन तथा सरसफाइका कार्य गरिएको छ । पार्वती छठघाटमा नेपाल भारत व्यवसायी छठ पूजा समितिको आयोजनामा छठ पुजा हुने गरेको छ ।
छठ मनाउनका लागि शुक्रबारबाट सरसफाइ लगायतका कार्य गर्दै पूजालाई व्यवस्थित बनाउन तयारीमा तिव्रता दिइएको समितिका पूर्व अध्यक्ष तथा वरिष्ठ सल्लाहकार भुनेश कुमार ठाकुरले जानकारी दिए । कार्तिक १० गते सोमबार अपरान्ह साढे ३ बजेदेखि साँझ ७ बजेसम्म र ११ गते मङ्गलबार बिहान साढे ३ बजेदेखि बिहान ७ बजेसम्म छठपूजा गरिने उनले जानकारी दिए । २०६८ सालदेखि केदारेश्वर मन्दिरको घाटमा छठ पूजा गर्न थालिएको उनको भनाइ छ ।
आफूहरूले आयोजना गर्ने पूजामा २ सय व्रतालु सहित १ हजार जनाको सहभागिता रहने उनले बताए । पहिला तराईवासी र भारतीयले पूजा गर्ने गरेको भएपनि अहिले पहाडको दिदीबहिनीले समेत पूजा गर्ने गरेको सुनाए । पूजाको सबै व्यवस्था समितिले गर्ने उनको भनाइ छ । समितिका पूर्व अध्यक्ष ठाकुरले छठ प्रकृतिको पूजा रहेको र यो सबैले मनाउनुपर्ने बताए । पहाडमा केही वर्षदेखि यसलाई मनाउन सुरु गरिएको भएपनि तराइमा सबै धर्मावलम्बीले यसलाई मनाउने उनको भनाइ थियो ।
३२ वर्षदेखि पोखरामा बसेको बताएका उनले यहाँ छठ मनाउने व्यवस्था नहुँदा घरमा जानुपर्ने बाध्यता भएको र सबैलाई घरमा जान सम्भव नहुने भएकोले यहीं मनाउन पर्यो भनेर सुरु गरिएको बताए । सुरुमा तालबाराही मन्दिर नजिक पूजा गरिने गरिएको भएपनि त्यतिबेला व्यवस्थापन समेत राम्रो नहुँदा सहभागिता थोरै हुने गरेको बताए । पोखराको नदीपुरको नारायणस्थान मन्दिर परिसर र रिठ्ठाघाट त्रिवेणीधाम सेतीनदी किनारा कालिखोलामा समेत छठ पूजा गर्ने गरिएको छ ।
पुजा कार्यक्रममा तराईका विभिन्न जिल्लाका साथै भारतबाट व्यापार तथा रोजगारका लागि नेपाल आएर परिवारसहित बसोवास गर्दै आइरहेकाहरू सहभागी बन्नेछन् । अस्ताउँदो सूर्यको उपासनाबाट शुरु भएर उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ सकिन्छ । छठमा छठी माताको पूजा जलाशयहरूमा गरिन्छ । छठ पर्व तिथिअनुसार आज शनिबार बेलुकी ‘नहाय–खाय’ अर्थात नुहाएर खाने विधिबाट शुरू हुँदैछ । सोमबार साँझको सूर्य र भोलिपल्ट मंगलबारको सूर्यलाई अर्घ दिएपछि छठ पर्वको समापन गरिन्छ ।











