पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ मा शनिबार स्त्री रोग परिक्षण सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । वडा नं. १७ कार्यालयको आयोजना, पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा तथा शहरी स्वास्थ्य केन्द्र पोखरा १७ को समन्वय र राइट फर चिल्ड्रेनको सहयोगमा स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
वडाअध्यक्ष राधिका कुमारी शाही योगीले विगतका वर्षहरूमा पनि पाठेघरको मुखको क्यान्सर लगायत स्त्री रोग परिक्षण सम्बन्धी शिविर गर्दै आएकोमा यसवर्ष पनि कार्यक्रमलाई निरन्तरता दिइएको बताइन् । पोखरा १७ मा जनसङ्ख्या पनि धेरै भएका कारण सहरी स्वास्थ्य कार्यालयमा नगरी वडा कार्यालय परिसरमै स्वास्थ्य शिविर कार्यक्रम आयोजना गरिएको अध्यक्ष शाहीको भनाई छ ।
नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण हाल महिलाहरूको अकालमै मृत्यु हुनेक्रम बढिरहेकोले रोग लागिसकेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिन, समयमै रोगको पहिचान गर्न र यसबारे सचेतना जगाउनका लागि शिविर आयोजना गरिएको अध्यक्ष योगीले प्रष्ट पारिन् । वडाबासीमा स्वास्थ्यबारे सचेतना बढ्दै गएकाले शिविरमा सहभागीहरूको सङ्ख्या समेत बढ्दै गएको उनको भनाइ थियो । स्त्री रोग विशेषज्ञ र फिजिसियन डाक्टरले शिविरमा स्त्री रोगसम्बन्धी परिक्षण गरेको उनले उल्लेख गरिन्।
शिविरमा गण्डकी मेडिकल कलेजका स्त्रीरोग विशेषज्ञ डा. सविन श्रेष्ठको नेतृत्वमा डा. रेजिना बैज, स्वास्थ्यकर्मी अनिता शर्मा र शङ्खुकुमारी बुढाले सेवा प्रदान गरेका थिए ।
शिविरमा पुगेकामध्ये केही महिलाहरूमा विविध स्त्री रोगको लक्षण देखिएकाले डाक्टरहरूले आवश्यक परामर्श, औषधी र अस्पतालहरूमा रिफर गर्ने काम समेत भएको अध्यक्ष योगीले बताइन् । शिविर आवश्यकताअनुसार औषधी समेत निःशुल्क वितरण गरिएको थियो ।
कार्यक्रममा वडा सदस्यहरू शिवराम भण्डारी, तारा परियार, विष्णुकुमारी थापा, बिक्रम गुरुङ र वडा सचिव सुरेन्द्रप्रसाद शर्माले सहजीकरण गरेका थिए । शिविरबाट १ सय २९ जना महिला लाभान्वित भएका छन् । तीमध्ये ११ जनालाई पाठेघरको मुखको क्यान्सरको थप उपचारका लागि रिफर गरिएको बताइएको छ ।
