पोखरा । पोखरामा भएको रगतको अभावलाई परिपूर्ति गर्नका लागि पोखरा महानगरपालिका वडा नं ५ को आयोजनामा बुधबार भएको रक्तदानमा ४१ युनिट रगत सङ्कलन भएको छ । भदौ २३ र २४ गते जेनजी आन्दोलनका कारण घाइतेहरू बढ्दा अस्पतालहरूमा देखिएको रगत अभावलाई हटाउने उद्देश्यले रक्तदान गरिएको वडाअध्यक्ष विष्णु प्रसाद बरालले जानकारी दिए ।

मुसलधारे पानीका बावजुत मालेपाटनस्थित तोडफोड गरिएको वडा कार्यालय परिसरमा भएको रक्तदानमा रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोग गरेको थियो । जसमा वडाका जनप्रतिनिधि, कर्मचारीसहित स्थानीयले रक्तदान गरेका थिए । 

वडाअध्यक्ष बरालले असोज २ गते बिहीबारदेखि वडा नं ५ ले पुरानै वडा कार्यालय भवन मार्फत नियमित सेवा सुरु गर्ने जानकारी दिए । नयाँ भवनमा आगजनी र तोडफोडका कारण पूर्ण क्षति भएको र सेवा दिने अवस्था नरहेकोले पुरानै कार्यालयमार्फत सेवा प्रवाह गर्न लागिएको हो ।

जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते विभिन्न चरणमा अराजक समुहले आएर वडा कार्यालयमा तोडफोड गर्नुका साथै आगजनी गरेका थिए । उक्त वडा कार्यालय भवन गत असारमा मात्रै उद्‌घाटन गरिएको थियो । मर्मत पश्चात केही महिनामा पुन नयाँ भवनबाट सेवा प्रदान गरिने उनले खुलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0