पोखरा । दैनिक उपभोग्य बस्तुको रुपमा रहेको एलपी ग्यासको कारोबार व्यवस्थित हुन नसकेको व्यवसायीहरूले बताएका छन् । एलपी ग्यास विक्रेता सङ्घ कास्कीको शनिबार पोखरामा सम्पन्न २१ औँ साधारणसभामा बोल्ने वक्ताहरूले घरायसी प्रयोजनदेखि व्यवसायसम्म र शहरदेखि गाउँसम्म एलपी ग्यासको खपत दैनिक रुपमा घट्दो क्रममा रहेका कारण व्यवसायी समस्यामा रहेको समेत बताएका हुन् ।
नेपालमा एलपी ग्यासको कारोबार वि.सं.२०२८ सालदेखि भएपनि घट्दो जनघनत्व र विद्युतीय उपकरणको कारण प्रयोग गरेको दावी व्यवसायीले गरेका हुन् । कास्की जिल्लामा हाल १८ वटा कम्पनीको ग्यास आपूर्ति हुने गरेको एलपी ग्यास बिक्रेता सङ्घ कास्कीका सचिव हरिकृष्ण अधिकारीले बताए ।
साधारण सभाको उद्घाटन ग्यास विक्रेता महासङ्घका केन्द्रीय अध्यक्ष ज्ञानेश्वर अर्यालले गरेका थिए । उनले व्यवसायीहरू आर्थिक रुपमा स्वच्छ र पारदर्शी हुनुपर्नेमा जोड दिए । उनले बिक्रेता सङ्घहरूलाई सदस्यहरूसँग पैसा उठाउने तर त्यसको हिसाब सार्वजनिक नगर्ने अवस्था रहेको बताउदैन आर्थिक रुपमा भ्रष्टिकरण बढेको बताए । ‘हामी राजनीतिक दलका नेताहरूलाई भ्रष्टाचार गरे भनेर गाली गछौँ तर व्यवसायीहरू पनि भ्रष्टिकरण हुँदै गएको आभाष भएको छ’ उनले भने । उनले ग्यास बिक्रेता व्यवसायीहरू बीचको एकतालाई बलियो बनाउदै सर्वसुलभ रुपमा उपभोक्तासम्म ग्यास पुर्याउनुपर्नेमा जोड दिए ।
नेपाल उद्योग वाणिज्य सङ्घ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष सञ्जीवबहादुर कोइरालाले नेपाल सरकारले बनाएको नीति नियममा रहेर ग्यास व्यवसायीले व्यापार गर्नुपर्नेमा जोड दिए । ग्यास डिपो सञ्चालन मापदण्ड अनुसार गर्नुपर्नेमा जोड दिदै उनले ग्यास कम्पनीले तोकेको अधिकतम मूल्यमा व्यवसाय गर्दा समस्या भएको बताए । उनले अधिकतम मूल्य पसलबाट ग्राहकले आफै लैजाने हो तर घरघरमा पुर्याए वापत थप सेवा शुल्क लगाउने व्यवस्थाका लागि नेपाल सरकार र आयल निगमसँग समन्वय गरेर जानुपर्ने आवश्यकता रहेकोमा जोड दिए ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घका उद्योग तर्फबाट उपाध्यक्ष बलराम आचार्य, ग्यास बिक्रेता महासङ्घका उपाध्यक्ष नारायणप्रसाद पौडेल, एलपी ग्यास बिक्रेता सङ्घका केन्द्रीय कोषाध्यक्ष रविन कार्की, गृहलक्ष्मी ग्यास कम्पनीका प्रबन्धक भीमराज लामिछाने, शक्ति ग्यास कम्पनीका प्रबन्धक मेघराज पौडेल, ग्यास बिक्रेता महासङ्घ कास्कीका संस्थापक अध्यक्ष बालकृष्ण कोइराला, सङ्घ कास्कीका उपाध्यक्ष शिवकुमार श्रेष्ठ, लगायतले बोलेका थिए । साधारणसभामा सचिव हरिकृष्ण अधिकारीको प्रतिवेदन र कोषाध्यक्ष सुरजमान गुरुङको आर्थिक प्रतिवेदन साधारणसभाले सर्वसम्मत पारित गरेको छ । साधारण सभा एलपी ग्यास बिक्रेता सङ्घ कास्कीका अध्यक्ष नारायणदत्त दाहालको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन सुबिना दाहालले गरेकी थिइन् ।












