पोखरा । शुक्रबारबाट पोखरामा हुन लागेको ‘आठौं इक्यान शैक्षिक मेला’को तयारी पुरा भएको छ ।  टाइम्स एजुकेशनलको प्रस्तुतिमा हुन लागेको मेलाको सबै तयारी पुरा भएको आयोजक इक्यान कास्कीले जनाएको छ । पोखरा न्युरोडमा रहेको सिटी स्क्वायर ब्याङ्क्वेटमा हुने मेलाको शुक्रबार बिहान ९ बजे गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले मेलाको उद्‌घाटन गर्ने कार्यक्रम तय भएको छ । 

उद्‌घाटन कार्यक्रममा नेपाल शैक्षिक परामर्श व्यवसायी महासङ्घका अध्यक्ष राजेन्द्र बराल, इक्यानका केन्द्रीय अध्यक्ष शेषराज भट्टराई लगायतको उपस्थिति रहने जनाइएको छ । मेलामा इक्यानका सदस्य संस्थाहरू सहित ६० भन्दा बढी स्टल रहने इक्यान कास्कीका उपाध्यक्ष एवं मेला संयोजक सन्तोष शाहीले जानकारी दिए । मेला शनिबारसम्म सञ्चालन हुनेछ ।

कार्यक्रममा सहभागी हुने पहिलो ५ सय जनालाई मुभी टिकट निःशुल्क उपलब्ध गराइने जनाइएको छ । एक जना भाग्यमानी दर्शकलाई ल्यापटप उपहार प्रदान हुनेछ । एक जनाले स्मार्ट फोन र एक जनाले ट्याबलेट उपहार जित्नेछन् । भाग्यमानी ५ जनाले एअरबर्ड, ५ जनाले क्वार्ड फोन, ५ जनाले जेबिएल स्पिकर, ५ जनाले हेडफोन उपहार जित्ने प्रचारप्रसार संयोजक राजन पन्थीले जानकारी दिए ।

मेलामा सहभागी हुनका लागि शुक्रबार र शनिबार निःशुल्क बस सेवासमेत इक्यान उपलब्ध गराएको छ। हेमजाबाट बगर, बिन्ध्यबासिनी, चिप्लेढुङ्गा हुँदै कार्यक्रम स्थलसम्म बस आउनेछ । तालचोकबाट पृथ्वीराजमार्ग हुँदै कार्यक्रमस्थलमा बस आइपुग्नेछ । त्यस्तै छोरेपाटनबाट बिरौटा, रत्नचोक, जिरो किमि हुँदै मेला स्थलमा बस आउनेछ । एक एक घन्टाको फरकमा बस ती स्थानहरूबाट छुट्ने इक्यानले जनाएको छ ।

मेलामा अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायत लगायतका कलेज एवं विश्वविद्यालयका प्रतिनिधि, इक्यानका सदस्य संस्था लगायतबाट प्रतिनिधि आउनेछन् । दुई दिने मेलामा सहभागी बनेर यसको भरपुर फाइदा लिनका लागि आयोजकले सरोकारवाला सबै  समक्ष आग्रह गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0