पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले सङ्घीयता जटिल बन्दै गइरहेको बताएका छन् । बुधबार पोखरा विश्वविद्यालयले आयोजना गरेको प्रादेशिक सरकारको दृष्टिकोणमा सङ्घीयताको कार्यान्वयन विषयक कार्यक्रममा उनले यस्तो बताएका हुन् । मुख्यमन्त्री पाण्डेले अझैपनि सङ्घ सरकारले प्रदेशलाई अधिकार हस्तान्तरण गर्ने मानसिकता बनाईनसकेको बताउँदै यिनै कारणहरूले सङ्घीयता जटिल बन्दै गइरहेको बताए । 

उनले संघीयता प्रति संविधानले अङ्गिकार गरेको राजनीतिक मोडलमा दलहरू इमान्दार नहुँदा पनि यस्तो समस्या आएको मुख्यमन्त्री पाण्डेले दावी गरे । प्रदेशमा बसेर सङ्घमा गएका सांसदहरुले पनि सङ्घीयताको मर्मअनुसारको काम गर्न नसकेको उनको भनाई छ । प्रदेशका समस्याहरू राम्ररी बुझेकाहरूले नै प्रदेशको बारेमा नकारात्मक टिकाटिप्पणी गर्ने प्रवृत्ति बढेकोप्रति उनले गुनासो समेत गरेका छन् ।

 कार्यक्रममा कालिगण्डकी डाइभर्सनको प्रसङ्ग निकाल्दै मुख्यमन्त्री पाण्डेले प्राकृतिक सम्पत्तिको उपयोग गर्ने कुरामा प्रदेशबीच समन्वय र छलफल हुन जरुरी रहेको बताए । उनले प्रदेश सरकारसँग कुनै समन्वय नै नगरी यस्ता निर्णयहरू हुनाले एउटा प्रदेशले गर्न खोजेको काम अर्को प्रदेशले रोक्ने र विवाद नै उत्पन्न हुने अवस्थामा पुग्ने बताए । 

पोखरा विश्वविद्यालयका रजिस्ट्रार प्राध्यापक डाक्टर अजय थापाले संविधान निर्माणको १० वर्ष हुन लागेको सन्दर्भमा यो कार्यक्रम आयोजना गरिएको जानकारी दिए । दश वर्षको अन्तरालमा भएका उपलब्धिचुनौतीहरूलाई आत्मसात गर्दै प्रादेशिक तथा स्थानीय तहको क्षमता अभिवृद्धि, नीतिगत स्पष्टता, स्रोत साधनको न्यायोचित बाँडफाँड, अन्तरसरकारी सम्बन्धमा समन्वय गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए । 

कार्यक्रममा संविधानको उपलब्धि, चुनौती र कार्यान्वयनबारे विभिन्न सेसनमा छलफल भएको थियो । कार्यक्रममा गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटा, पूर्वमुख्यसचिव डा सोमलाल सुवेदी, स्विट्जरल्याण्डको कार्यवाहक राजदूत माथियस मियर, यूएनडीपी गभर्नेन्स एडभाइजर विन्दा मगर, नीति तथा योजना आयोग गण्डकीका पूर्वउपाध्यक्ष डा गिरिधारी शर्मा पौडेल, सह प्रा डा अर्जुन थापा लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0