पोखरा । नेकपा (एमाले)का स्थायी कमिटीका सदस्य तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले श्रमको सम्मान विना समुन्नत समाजको निर्माण हुन नसक्ने बताएका छन् । शनिबार नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन गण्डकी प्रदेश कमिटीले पोखरामा आयोजना गरेको एसईईमा उतीर्ण मध्ये उत्कृष्ट विद्यार्थीलाई सम्मान कार्यक्रममा बोल्दै उनले श्रम गर्नु गौरवको विषय भएको उल्लेख गरे । ‘श्रमिक निर्माणको संवाहक हो । श्रमको अपमान गर्ने समाज असभ्य र जङ्गली हुन्छ,’उनले भने, ‘श्रमको सम्मान गर्ने देश छिटो विकास भएर फड्को मारेको विश्वमा धेरै उदाहरण छ ।’ उनले एमालेले श्रमको सम्मानका अलाबा श्रमिक वर्गको हक हितमा काम गरेको दाबी गरे ।

सामाजिक सुरक्षा अन्तर्गत ज्येष्ठ नागरिक भत्ता, योगदानमा आधारित सामाजिक सुरक्षाको योजना ल्याएको जानकारी दिए । उनले राज्यका निकायमा वर्गीय रुपमा समेत आरक्षण आवश्यक भएको चर्चा गरे । उनले सम्मानित विद्यार्थीलाई स्वदेशमा अध्ययन गरी देश बनाउन आग्रह गरे । नेपाल जस्तो पवित्र ठाउँको मान्छे युरोप अमेरिका जान नपर्ने तर्क गर्दै उनले पिता पुर्खाको सम्मान गर्न विद्यार्थीलाई अनुरोध गरे ।

नेपाल ट्रेडयुनियन महासंघ (जिफन्ट)गण्डकी प्रदेश कमिटीका अध्यक्ष रुद्रबहादुर खत्रीले एमालेका सरकारको पालामा योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको सुरुवात गरेको बताए । उनले अनौपचारिक क्षेत्र लगायतका सबै श्रम क्षेत्रमा सुरक्षा योजना प्रभावकारी कार्यान्वयन गर्न पर्ने उल्लेख गरे । अहिलेसम्म देश भरीका ५३ पालिकाले अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गरेको जानकारी दिदैँ उनले ३ सय ३३ जना श्रमिकले कोषबाट पेन्सन पाएको बताए ।

जिफन्ट सहकारी प्रवर्द्धन बोर्डका सदस्य ईश्वरप्रसाद आचार्यले श्रमिकले न्यूनतम पारिश्रमिक नपाएको जनाए । सरकारले तोकेको तलब नपाएकोले श्रमिकले आन्दोलन गर्नु पर्ने अवस्था आएको उनले उल्लेख गरे ।

नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन केन्द्रीय उपमहासचिव विष्णुबहादुर पराजुलीले सामाजिक सुरक्षा कोषमा यातायात श्रमिकलाई सूचीकृत गर्ने सवाललाई प्रमुखताका साथ उठाएको बताए । उनले सङ्गठनले सबै यातायात मजदुरलाई सङ्गठित गर्न नसकेको उल्लेख गरे । यातायात स्वतन्त्र मजदुर सङ्गठन गण्डकी प्रदेश अध्यक्ष विष्णुबहादुर खत्री क्षेत्रीले सबै श्रमिकलाई कोषमा समेट्नको लागि दबाबमूलक कार्यक्रम गर्ने बताए ।

 ‘श्रमको सम्मान, मर्यादित काम, सामाजिक सुरक्षा योजना कार्यान्वयन हाम्रो अभियान’ भन्ने नाराका साथ भएको कार्यक्रममा नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्गठन गण्डकीका अध्यक्ष बलराम सापकोटा, क्युपेक नेपालका केन्द्रीय सचिव पुण्यप्रसाद उप्रेती, नेपाल यातायात मजदुर सङ्गठनका प्रतिनिधि परिषद्का उपप्रमुख कर्णसिं गुरुङ, गण्डकी प्रदेश कमिटीका उपाध्यक्ष बेनीराज थिङ, कोषाध्यक्ष केशव खतिवडा, सङ्गठनका साविक गण्डकी प्रदेशका पूर्व अध्यक्ष आनन्द श्रेष्ठ लगायत यातायात क्षेत्रको समस्याको बारेमा बोलेका थिए ।

कार्यक्रममा यातायात मजदुरका एसईईमा उतीर्ण उत्कृष्ट १५ छोरा छोरीलाई सम्मान गरिएको हो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व मुख्यमन्त्री अधिकारी लगायतले सम्मान गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0