पोखरा । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले नेकपा एमाले गल्तीलाई ढाकछोप गर्ने रामनामी खास्टो नभएको बताएका छन् । नेकपा एमाले कास्कीले बुधबार पोखरामा ४७ औँ पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजना गरेको विचार गोष्ठीमा बोल्दै उनले गलत काम गर्नेलाई एमाले भएकै कारण संरक्षण नदिइने बताए । ‘तपाइले गर्ने व्यक्तिगत कारोबारको जिम्मा तपाइनै हो, एमाले भनेको तपाइले गरेका गल्तिलाई ढाकछोप गर्ने रामनामी खास्टो चाहिँ होइन’, उनले भने ‘त्यस कुरामा हामी बहुत प्रष्ट हुनु जरुरी छ ।’
पार्टी स्कुल विभाग प्रमुख समेत रहेका ज्ञवालीले पोखरा १६ को लिचिघारी जग्गा प्रकरणको विषय उक्काउँदै जुन औलामा विष लाग्छ त्यो औँला झर्ने बताउँदै कसैले गलत गर्छ पार्टीले संरक्षण नगर्ने बताए । ‘नेकपा एमालेको बहुत स्पष्ट नीति छ जुन औलामा विष लाग्यो त्यो औंला झर्छ, त्यसले सिङ्गो शरीरलाई असर पर्न दिन हुन्न’ उनले थपे ‘अस्ति यहीं पोखराको एउटा जग्गाको बारेमा विवाद आयो प्रधानमन्त्रीले ब्ल्याङ्क पेपर देखाएर भन्नु भयो मन्त्रीज्यू के लेख्ने हो यहाँ लेख्नुहोस्, उहाँले राजीनामा दिएर बाहिर जानुभयो ।’ अब छानबिन हुँदा निर्दोष भए उन्मुक्ति पाउने दोषी भए कारबाही भोग्नुपर्ने बताए ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रत्यक्ष राजनीतिमा आउन लागेको प्रसंङ्गबारे बोल्दै ज्ञवालीले राष्ट्रपति जस्तो गरिमामय पदमा पुगेपछि दलीय राजनीतिको सक्रिय प्रतिस्पर्धाभन्दा माथि सम्मानित अभिभावकको भूमिकामा रहनुपर्ने बताए । उनले देशमा लोकतन्त्र र गणतन्त्रमाथि सङ्कट आइपर्दा पूर्वराष्ट्राध्यक्षले अभिभावकीय भूमिका खेल्नुपर्ने बताए ।
नेकपा एमाले स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले पनि राष्ट्रपति भइसकेको व्यक्ति प्रत्यक्ष राजनीतिमा फर्कनु उचित नहुने बताए । उनले पार्टी सदस्यताबारेको कुराहरू प्राविधिक कुरा भएकाले राष्ट्रपति जस्तो गरिमामय पदमा पुगिसकेपछि सबै पाटीलाई अभिभावकत्वको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा कोशी प्रदेशका पूर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी, एमाले गण्डकी प्रदेश सचिव धनञ्जय दवाडी, कास्कीका उपाध्यक्ष भेषराज बराल, एमाले कास्की इन्चार्ज कृष्ण थापाले पुष्पलालको योगदानको बारेमा बोलेका थिए ।
एमाले कास्की अध्यक्ष बैन बहादुर अधिकारी क्षेत्रीको अध्यक्षतामा भएकाे कार्यक्रममा बोल्दै उनले पुष्पलाल स्मृति दिवस पोखरामा तीन दिने कार्यक्रम गरेर मनाईएको बताए । पुष्पलाल स्मृति दिवसको अवसरमा युवा संघ नेपाल कास्कीले बुधबार गरेको रक्तदानमा एक सय २ युनिट रगत संकलन भएको थियो । त्रिदिवसीय कार्यक्रम अन्तर्गत पाँच गते पोखरा ७ नुवारथोकस्थित पुष्पलाल स्मृति पार्कको सरसफाई र ६ गते पुष्पलाल अनुसन्धान केन्द्र पोखरा २१ फेदीपाटनमा श्रद्धाञ्जली सभा आयोजना गरिएकोअध्यक्ष क्षेत्रीले जानकारी दिए । कार्यक्रमको सञ्चालन एमाले कास्की सचिव दर्शन लामाले गरेका थिए ।













