पोखरा । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव एवम्  विश्व कम्युनिष्ट पार्टीको घोषणापत्रका नेपाली अनुवादक, पुष्पलालले देखेका सपना पुरा गर्नु आजको आवश्यकता भएको मंगलबार पोखरामा आयोजित एक कार्यक्रममा जोड दिइएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पोखरा महानगर कमिटीद्वारा पुष्पलाल अनुसन्धान केन्द्र पोखरा २१ फेदीपाटनमा ४७ औँ स्मृति दिवसका अवसरमा आयोजित  श्रद्धाञ्जली सभामा बोल्ने वक्ताहरूले पुष्पलाल समकालीन क्रान्तिको कार्यदिशा र मुख्यतः संयुक्त जनआन्दोलनका विचारक भएकोमा जोड दिए ।

नेकपा एमालेका नेता सोमनाथ अधिकारी प्यासीले सो केन्द्रमा रहेको पुष्पलालको अर्धकदको शालिकमा माल्यार्पण गर्दै  पुष्पलालले समाजको गुणात्मक परिवर्तनका लागि आफ्नो सम्पूर्ण जीवन पार्टी र क्रान्तिलाई समर्पित गरेको बताए ।  नेपाली कम्युनिष्ट आन्दोलनमा उनी जस्तो स्वतन्त्र राष्ट्रिय चिन्तक, विचार, राजनीति, पार्टी सङ्गठन, भौतिकवादी खोज अनुसन्धान तथा साहित्य निर्माणमा वैज्ञानिक योगदान गर्ने क्रान्तिकारी नैतिकवान् नेता पुष्पलालले देखेका सपना पुरा गर्नु आजको आवश्यकता भएकोमा नेता अधिकारीको जोड थियो ।

उनले भने, मुलुकको अवस्थामा परिवर्तन भइसकेको छ र अबको आवश्यकता भनेको जनताको गणतन्त्र नेपालको सुदृढीकरण तथा वैज्ञानिक समाजवाद हुँदै साम्यवादको लक्ष्यमा अघि बढ्न देशभक्त कम्युनिष्टहरूलाई मात्र नभई लोकतान्त्रिक पुस्तालाई समेत सर्वत्र उत्प्रेरित गर्न सके मात्र पुष्पलाल प्रति सच्चा श्रद्धाञ्जली हुने छ ।

नेकपा एमाले कास्कीका अध्यक्ष वैन बहादुर अधिकारी क्षेत्रीले यो मुलुकको विकास निर्माण र जनताको अधिकारको सुनिश्चितता एमाले बाहेक अरुले गर्न नसक्ने बताए । सफलता प्राप्तिका लागि पार्टी कार्यकर्तालाई एकवद्ध एवम् सङ्गठित भएर अघि बढ्नु पर्नेमा उनको जोड थियो ।

एमाले पोखरा महानगरपालिकाका अध्यक्ष जीवन आचार्यले विकट स्थानमा जन्मेर पनि पुष्पलालले नेपालको कम्युनिष्ट आन्दोलनमा खेल्नु भएको भूमिकाप्रतिको  चर्चा गरे । कार्यक्रममा महानगर उपाध्यक्ष नरेन्द्रनाथ ढुङ्गाना र सचिव सुशील बस्नेतले नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालको भूमिकाका सम्बन्धमा प्रकाश पारे ।

सो अवसरमा अध्ययन केन्द्रको अग्रभागमा रहेको पुष्पलाल र कास्कीका कम्युनिष्ट आन्दोलनका धरोहर बलराम उपाध्यायको अर्धकदको मालिकमा माल्यार्पण गरिएको थियो । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्यहरू, स्थानीय तहका जनप्रतिनिधि, पार्टीका विभिन्न तह र तप्कामा रहेका नेतागण, कार्यकर्ता एवम् सर्वसाधारणको सहभागिता रहेको थियो ।

त्रिदिवसीय कार्यक्रम अन्तर्गत पाँच गते पोखरा ७ नुवारथोकस्थित पुष्पलाल  स्मृति पार्कको सरसफाई र राष्ट्रिय युवा संघद्धारा सातगते विहान पृथ्वीचोकमा खुल्ला रक्तदान र पार्टी उपमहासचिव प्रदिप ज्ञावलीको प्रमुख आतिथ्यतामा साईमनमा विचार गोष्ठीको आयोजना गरिने भएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0