पोखरा । नेकपा एमाले जिल्ला कमिटी कास्कीले ४७ औँ पुष्पलाल स्मृति दिवसको सन्दर्भमा प्रशिक्षण मूलक प्रवचन कार्यक्रम आयोजना गर्ने भएको छ । साउन ७ गते बुधबार साइमन पार्टी प्यालेसमा हुने कार्यक्रममा एमाले उपमहासचिव प्रदिप ज्ञवालीको प्रमुख वक्ता रहने कास्की अध्यक्ष वैन बहादुर अधिकारी क्षेत्रीले जानकारी दिए ।
उनका अनुसार प्रवचन कार्यक्रमलाई भव्य बनाउन तयारीमा तीव्रता दिइएको छ । कार्यक्रम बिहान साढे ११ बजे सुरु हुनेछ । सल्लाहकार कमिटी, क्षेत्रीय कमिटी र विभागमा राखेकोलाई एकमुष्ट सपथ खुवाउने कार्यक्रम समेत सोही कार्यक्रममा हुने अध्यक्ष अधिकारीले बताए । प्रशिक्षण मूलक प्रवचन कार्यक्रममा समसामयिक विषयवस्तु र पुष्पलालको योगदान बारेमा सहभागीलाई प्रशिक्षित गरिनेछ ।

बुधबार नै राष्ट्रिय युवा सङ्घ नेपाल कास्की जिल्ला कमिटीले खुला रक्तदान कार्यक्रम समेत आयोजना गर्दैछ । बिहान ७ बजे पोखराको पृथ्वीचोकमा हुने रक्तदान कार्यक्रममा सहभागी बनेर रगतको अभावमा छटपटाइरहेका बिरामीलाई जीवन दान गर्नको लागि युवा सङ्घ कास्कीले सबैमा आग्रह समेत गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ १५ असार १९८१ मा रामेछापको भँगेरीमा जन्मिएका थिए । ७ साउन २०३५ मा भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । पुष्पलालले जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ १० वैशाख २००६ मा नेकपा स्थापना गरेका थिए । २०२५ सालमा पञ्चायती निरङ्कुशताको अन्त्यका लागि ‘संयुक्त जनआन्दोलनको कार्यदिशा’ अगाडि सार्ने उनी पहिलो नेता हुन् । उनको स्मृति दिवसको अवसरमा एमालेले देशैभर विभिन्न कार्यक्रम आयोजना गर्दैछ ।
स्मृति दिवसको अवसरमा पोखरा ७ वडा कमिटीले सोमबार पुष्पलाल पार्क सरसफाइ कार्यक्रम गरेको थियो । सरसफाइ कार्यक्रममा प्रतिनिधि सभाका सांसद दामोदर बैरागी, एमाले कास्की अध्यक्ष वैन बहादुर अधिकारी क्षेत्री, पोखरा महानगर कमिटी अध्यक्ष जीवन आचार्य लगायत पार्टीका विभिन्न कमिटीमा रहेका नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो ।













