काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणका विषयमा पार्टीले छलफल गरेर निर्णय गर्ने बताएका छन् । पार्टीको पोलिटब्युरो बैठकलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष ओलीले भण्डारी सक्रिय राजनीतिमा फर्किनन् भन्ने विश्वासका साथ उनले दुईपटक राष्ट्रपति बनाइएको बताए ।
बैठकमा सहभागी एक सदस्यले दिएको जानकारी अनुसार, भण्डारीको सदस्यता हालसम्म नवीकरण नगरेको अध्यक्ष ओलीले बताए । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी भित्रको अराजकता रोक्नुपर्नेमा जोड दिए । ‘पार्टीलाई ठूलो र सङ्गठित हमला छ’ ती सदस्यले भने ‘यही बेला पार्टी भित्रबाट पनि बबण्डर उठाउने कोसिस हुनु गलत हो । यो कुरा तत्काल रोकिनुपर्छ। नरोकिए पार्टीले रोक्छ ।´
प्रधानमन्त्री ओलीले राष्ट्रपति सक्रिय राजनीतिमा आउने कुरा आफूले पत्रिकाबाट थाहा पाएको बताए । ‘दुई पटक उहाँलाई पार्टीले पठाएको हो । अहिले संवैधानिक ब्यवस्था अनुसार फर्किनुहुन्न भनेर जिम्मेवारी दिएको हो´ अध्यक्ष ओलीले बैठकमा भनेको कुरा सुनाउँदै ती सदस्यले भने । सकृय राजनीतिमा आउने कुरा र उचालेका आधारमा अध्यक्ष हुने कुरा फरक रहेको उनले बताए । पार्टीका विधानका बारेमा धारणा राख्दै हिड्नेलाई उनले पार्टी पद्धति र प्रकृयाका विषयमा पार्टी भित्र छलफल हुने र पार्टीमाथि आक्रमण भएका बेला बाहिर गएर बोल्ने कुरा उचित नभएको उल्लेख गरे ।












