पोखरा । कवि तीर्थ श्रेष्ठका कवितामा आधारित नाटक ‘आमा’ पोखरामा मञ्चन हुने भएको छ । पोखरा थिएटरको प्रस्तुतीमा मञ्चन हुन लागेको नाटकको निर्देशन नारायण न्यौपानेले गर्नेछन् । नाट्य लेख समेत उनले नै तयार पारेका हुन् । नाटक रमेशबाबु तिमल्सिनाको सह-निर्देशनमा तयार हुनेछ ।
‘आमा’ साउन २ गतेदेखि १० गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन गरिने बताइएको छ । केही दिनदेखि रिहर्सल मार्फत निखारता प्रदान गरी नाटकलाई सुन्दर बनाउन कलाकारले मेहनत गरिरहेका छन् । नाटकबाट दर्शकको साथ पाउने उनीहरूको अपेक्षा छ । हरेक दिन साँझ ५ बजे र शनिबार अतिरिक्त ‘सो’ को रुपमा दिउँसो १ बजे समेत यो नाटक मञ्चन हुनेछ ।
नाटकमा कृष्टि गुरुङ, अञ्जली शाही, शीतला अधिकारी, सुसन पौडेल, धनकाजी श्रेष्ठ, रमेशबाबु तिमल्सिना, प्रकाश रेग्मी, श्रीकृष्ण भण्डारी, सृष्टि पङ्गेनी, राहुल श्रेष्ठ लगायतको अभिनय हेर्न पाइनेछ ।
सङ्गीत प्रकाश र दृश्य संयोजनको काम परिवर्तनले गर्नेछन् । सुपरीवेक्षणमा प्रमिला तुलाचन, कला निर्देशनमा विकास अधिकारी, कोरियोग्राफरमा सरिता मगर, मञ्च व्यवस्थापनमा धनकाजी श्रेष्ठ, ध्वनि तथा प्रकाश परिचालनमा दिल बहादुर थापा र बक्स अफिसमा अस्मित गोदारले सघाउनेछन् ।
यस नाटकको मुख्य पात्र फूलमाया हुन् । उनको बाल्यकालदेखि वृद्धावस्थास्मको रूपान्तरण नाटकमा हेर्न पाइन्छ । किशोरी उमेर प्रवेश गर्ने बेला पुतलीसँग खेल्ने अवस्थाको देखि लिएर युवा अवस्थामा भोगेका विभिन्न उतारचढाव र वृद्धा अवस्थामा सन्तान प्रतिको ममतालाई आकर्षण ढंगले प्रस्तुत गरिनेछ ।
नाटक मञ्चनका अलावा कवि तीर्थ श्रेष्ठलाई कविता, गीत, गजल, मुक्तक र नाटक गरी एक साथ पाँच आयामका साथ प्रस्तुत गर्ने तयारी समेत थिएटरले गरेको जनाएको छ । ‘हिउँमा नलेखिएका तीर्थ पाँच आयामको साथ’ कार्यक्रम शनिबार दिउँसो ३ बजे गन्धर्व नाटकघरमा हुने थिएटरका अध्यक्ष परिवर्तनले कोटखबरलाई जानकारी दिए । जहाँ श्रेष्ठले आफ्ना सिर्जनाहरु सुनाउनेछन् ।












