पोखरा । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमालेलाई कमजोर पार्नको लागि ध्रुव खडा गर्ने प्रवृत्ति देखिने गरेको बताएका छन् । पोखरामा शनिबार जननेता स्वर्गीय मदन कुमार भण्डारीको ७४ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रवृत्ति पाटी हितमा नहुने स्पष्ट पारे ।
नेतालाई जोडेर धार जन्माउने कोसिस हुने गरेको र त्यसमा आफ्नो नाम समेत जोडिने गरेको गुनासो उनले गरे । आफू र विष्णु पौडेलको नाममा धार जन्माउने कोसिस भएको भएपनि आफूहरूबीच त्यस्तो अवस्था हुँदै नभएको दावी गरे । ‘एउटा समय थियो पार्टी भित्र शङ्कर पोखरेल र विष्णु पौडेलको नाममा धार जन्माउने कोसिस भएको भन्दै हल्ला फैलाइयो, थिदै थिएन, कित्ता काटको आवश्यकता रहेन’ उनले भने ।
नेतालाई जोडेर धार खडा गर्ने खेती अहिले अध्यक्ष केपी ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीतर्फ सुरु भएको उनले सङ्केत गरे । ‘पूर्व राष्ट्रपति नेकपा एमालेको विकास र समृद्धिको आकाङ्क्षा भन्दा बाहिर जान सक्नुहुन्छ भन्ने त लाग्दै लाग्दैन’ उनले भने ‘तरपनि आज सामाजिक सञ्जालमा मिडियामा अनेक प्रकारका प्रवृत्तिहरू देखा परिरहेको छ ।’
नेकपा एमालेलाई कमजोर पार्नका लागि ध्रुव खडा गर्ने प्रवृत्ति नेकपा एमालेको हितमा छैन भन्ने नेता तथा कार्यकर्ताले बुझ्नुपर्नेमा उनको जोड थियो । यतिबेला अवसरवादी सल्बलाइरहेको र पार्टीको नेतृत्वको विरुद्धमा घेराबन्दी भइरहको दावी उनले गरे ।
एमाले पार्टी र नेतृत्वमाथि अहिले ४ प्रकारका शक्तिबाट प्रहार भइरहेको उनको भनाइ थियो । ती चार प्रकारका शक्तिमा राजावादी, कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउन माओवादी केन्द्र लगायतका पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी सहितका अवसरवादी र नेपालमा स्थायित्व देख्न नसहने अन्तराष्ट्रिय शक्ति केन्द्र रहेको उनले खुलाए ।
उनले एमाले पार्टीमा विचार कार्यक्रम नीति र नेतृत्वका प्रश्नमा एकतावद्ध रहेको दावी गरे । ‘तर मान्छेलाई मन परेको छैन । अवसरवादीलाई फिटिक्कै मन परेको छैन । त्यसकारण एमाले र एमालेको नेतृत्वको विरुद्धमा अहिले चौतर्फी र घेराबन्दी र आक्रमण भइराखेको छ’ उनले औल्याए ।
हरेक दुई महिनामा सरकार ढलेको घोषणा हुने गरेको भएपनि सरकार टिकीरहेको बताए । यस्ता हल्लाको बारेमा कार्यकर्ता पंत्तिले बुझ्न सक्नु पर्ने उनको धारणा थियो । पार्टीमा आकाङ्क्षाको अन्तरद्वन्द्व भने रहेको उनले स्वीकार गरे ।

एमाले पोखरा महानगर कमिटीले आयोजना गरेको उक्त विचार गोष्ठीमा महासचिव पोखरेलले जनताको बहुदलीय जनवादले आत्मसात गरेका मान्यताहरू नेपाली कम्युनिस्ट आन्दोलनका कोशेढुङगा भएको र सर्वस्वीकृति मान्यता बनिसकेको बताए । नेपाली क्रान्ति र समाजको विकासमा नेतृत्वदायी विचारका रूपमा जबज स्थापित भएको र विचार निर्माणमा यसले महत्वपूर्ण जग निर्माण गरेको उनको भनाई थियो ।
उनले नेपाली क्रान्ति र समाजको विकासमा जबज नेतृत्वदायी विचार भएको बताए । महासचिव पोखरेलले देशलाई सशस्त्र द्वन्द्वको शान्तिपूर्ण अवतरणसहित समृद्धिको गोरेटोमा अघि बढाउन जबजले मार्गदर्शन गरिरहेको उल्लेख गरे ।
कार्यक्रममा प्राध्यापक डा यदुनन्दन ढकाल, कोशी प्रदेशका पूर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी, केन्द्रीय सदस्य मञ्जुदेवी गुरुङ, प्रतिनिधि सभा सदस्य दामोदर पाैडेल वैरागी, एमाले गण्डकी प्रदेश कमिटी सचिव धनञ्जय दवाडी, कास्की अध्यक्ष वैन बहादुर अधिकारी क्षेत्री लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
पोखरा महानगर कमिटी अध्यक्ष जीवन प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न उक्त विचार गोष्ठीमा पार्टीको मुखपत्र ‘अभियान’ को विमोचन पनि गरिएका थियो । कार्यक्रमको सञ्चालन सचिव सुशील बस्नेतले गरेका थिए ।












