पोखरा । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार साँझ माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ६१.८१ प्रतिशत परीक्षार्थी ग्रेडेड भएका छन् ।
सार्वजनिक नतिजाअनुसार विसं २०८१ को एसइई परीक्षामा नियमिततर्फ सहभागी चार लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ जिपिएदेखि ४ जेपीएसम्म ल्याउने ४८ हजार १७७ जना, ३.२ जिपिएदेखि ३.६ जिपिए ल्याउने ८१ हजार ३८५ जना र २.८ जिपिएदेखि ३.२ जिपिए ल्याउने ८९ हजार १२४ जना परीक्षार्थी रहेका छन् ।
२.४ जिपिएदेखि २.८ जिपिएसम्म ल्याउने ४८ हजार ४७९ जना, २ जिपिएदेखि २.४ जिपिए ल्याउने चार हजार १२६ जना र १.६ देखि २ जिपिए ल्याउने आठ जना परीक्षार्थी रहेका छन् । १ सय २६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए। एक लाख ६७ हजार ५९७ विद्यार्थी नतिजा अवर्गीकृत भएका छन् ।
यस वर्षको एसईई परीक्षा गएको चैत ७ गते शुरू भई १९ गते सकिएको थियो । परीक्षामा करिब पाँच लाख १० हजार विद्यार्थी सहभागी भएका थिए ।
















