पोखरा । नगर विकास कोषको सहयोगमा तथा नेपाल इन्जिनियर्स एसोसिएसन गण्डकी प्रदेशको समन्वयमा आयोजित  ‘शहरी योजनाः उपकरण र प्रविधिहरू’ विषयक चार दिवसीय तालिम पोखरामा सफलतापूर्वक सम्पन्न भएको छ। तालिमको समापन समारोह नेपाल इन्जिनियर्स एसोसिएसन केन्द्रीय समितिका उपसभापति इन्जिनियर प्रकाश केसीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। 

प्रमुख अतिथि  केसीले शहरीकरणको सन्दर्भमा व्यवस्थित बस्ती विकास, प्रविधिको प्रभावकारी उपयोग र नीति निर्माणमा इन्जिनियरहरूको भूमिकाबारेमा महत्वपूर्ण विचार राखे । उनले हालै नेपाल इन्जिनियर्स एसोसिएसनले नेपाल इन्भेष्टमेन्ट बैङ्कसँग गरिएको बिना धितो १५ लाख रुपैयाँसम्मको ऋण सुविधा तथा मेडिसिटी अस्पतालसँग गरिएको सहकार्यबारे समेत सहभागीहरूलाई जानकारी गराएका थिए ।

गण्डकी प्रदेश अध्यक्ष इन्जिनियर  सन्तोष जिसीको अध्यक्षतामा भएकाे कार्यक्रममा बोल्दै उनले गण्डकी प्रदेशमा नियमित रूपमा तालिम तथा क्षमता अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन भइरहेको जानकारी गराए ।आउँदो साउन ३ गते मनाइने ‘नेपाल इन्जिनियर दिवस’को अवसरमा एक हप्ते विशेष कार्यक्रम आयोजना गरिने घोषणा समेत जिसीले गरे ।

विशेष अतिथिका रूपमा केन्द्रीय कोषाध्यक्ष सुमन थापाको उपस्थिति रहेको कार्यक्रममा केन्द्रीय सदस्यहरू इन्जिनियर प्रभुराम पोखरेल, अवित केसी, एमेन्द्र गुरुङ, पूर्व गण्डकी प्रदेश अध्यक्षहरू रमेश बास्तोला र विजेन्द्र केसी, पूर्व केन्द्रीय सदस्य रविन्द्रलाल मूल, नेपाल भ्यालुएस एसोसिएसन कास्कीका सचिव हरि अधिकारी, नेपाल इन्जिनियर्स एसोसिएसन गण्डकी प्रदेशका उपसभापति इन्जिनियर विशाल थापा, प्रदेश कोषाध्यक्ष विश्वास आचार्य तथा सदस्यहरू इन्जिनियर महेन्द्र पौडेल, इन्जिनियर मनोज गिरी, इन्जिनियर सञ्जयराज तिम्सिना, इन्जिनियर रोचक क्षेत्री, र इन्जिनियर सक्षम अधिकारीको समेत उपस्थिति भएका थिए ।

चार दिने तालिममा ४० जना भन्दा बढी सहभागीहरूले प्रत्यक्ष रूपमा लाभ लिएको आयोजककाे भनाइ छ । सहभागी सन्देश पराजुली र प्रतीक्षा पाठकले तालिम अनुभव सुनाउँदै शहरी योजना तथा बस्ती विकासका विषयमा व्यवहारिक र ज्ञानवर्धक प्रशिक्षण पाएको प्रतिक्रिया दिएका थिए ।

उपसभापति विशाल थापा र सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपालका अध्यक्ष विजेन्द्र केसीले नेपाल इन्जिनियर्स एसोसिएसनले इन्जिनियरहरूको हकहितका लागि गर्दै आएको विविध क्रियाकलापबारे प्रकाश पारे। कार्यक्रमको सञ्चालन इन्जिनियर निरोज लामिछानेले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0