पोखरा । पोखरा उद्योग वाणिज्य सङ्घको आसन्न ३६ औँ अधिवेशनमा स्वतन्त्ररूपमा कार्यसमिति सदस्य पदमा उम्मेदवार रहेका ८ उम्मेदवारहरूलाई मतदाताहरूले स्वतन्त्ररूपमा कुनै अध्यक्षको प्यानलमा नबसी उम्मेदवार बनेकोमा धन्यवाद दिएका छन् । पोखराको महेन्द्रपुल, पन्थी गल्ली, पराजुली मार्ग, ट्रेडमल, बुद्व विशाल बजार लगायतका ठाउँहरूमा गरिएको घरदैलो कार्यक्रममा सदस्यका ८ उम्मेदवारहरूले व्यावसायिक हकहितको संरक्षण, कर प्रणालीमा सुधार, बजार चलायमान बनाउने जस्ता प्रतिवद्धतासहित चुनावी प्रचारप्रसारलाई तीव्र पारेका छन्।
घरदैलोमा सदस्यका उमेदवारहरूलाई व्यवसायीहरूले वर्तमान आर्थिक मन्दी, चर्को बैङ्क ब्याजदर, र उपभोक्ता अभावका कारण व्यवसायीहरूले भोग्नुपरेका समस्याहरू प्रत्यक्ष रूपमा सुनाएका थिए । निर्वाचनमा व्यावसायिक एजेन्डाभन्दा पनि राजनीतिक प्यानलगत प्रभाव बढी देखिने गरेको व्यवसायीहरूको गुनासो छ, जसले गर्दा मतदाताहरूले दलीय आबद्धताभन्दा व्यावसायिक समस्या समाधान गर्न सक्ने सक्षम नेतृत्वलाई रोज्नुपर्नेमा जोड दिएका थिए ।
घरदैलो कार्यक्रममा सदस्यका उमेदवारहरू अमृत पोखरेल, सुर्यराज घिमिरे (सुरेश) दुर्गा बराल, नविन नापित, मनोहरि पौडेल, राम कँडेल, कमल बहादुर सुनार, भानुभक्त अधिकारी सहभागी भएका थिए ।















