पोखरा । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएपछि राहत तथा पुनःस्थापनाका लागि गण्डकी प्रज्ञा प्रतिष्ठानले २ लाख १६ हजार १ सय १० रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठका अनुसार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ। प्रतिष्ठानको तर्फबाट १ लाख रुपैयाँ तथा प्रतिष्ठानमा आबद्ध प्राज्ञहरूबाट १ लाख १६ हजार १ सय १० रुपैयाँ संकलन गरी कुल २ लाख १६ हजार १ सय १० रुपैयाँ सहयोग गर्न लागिएको हो।

सदस्य सचिव श्रेष्ठले विपद्को समयमा प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले प्रतिष्ठानको तर्फबाट उक्त निर्णय गरिएको जानकारी दिए।

गत भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखालगायतका तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको सरकारले जनाएको छ। बाढीपछि प्रभावित क्षेत्रमा उद्धार, खोज तथा राहतका कामलाई तीव्रता दिइएको छ। सरकारले पीडितको तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न सार्वजनिक आह्वानसमेत गरेको छ।

भोटेकोशी बाढीपछि विभिन्न सरकारी तथा गैरसरकारी संस्था, बैंक, व्यवसायी, सामाजिक संस्था र व्यक्तिहरूले राहत तथा उद्धारका लागि सहयोग घोषणा गरिरहेका छन्। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग जुटाउने क्रम बढिरहेको छ।

गण्डकी प्रज्ञा प्रतिष्ठानले पनि साहित्य, कला र संस्कृतिको क्षेत्रमा आफ्नो भूमिका निर्वाह गर्दै आएको अवस्थामा विपद्का बेला प्रभावित नागरिकप्रति सामाजिक उत्तरदायित्व देखाउँदै आर्थिक सहयोग गर्ने निर्णय गरेको हो।

‘विपद्को यो समयमा पीडित नागरिकको साथमा उभिनु हाम्रो दायित्व हो,’ सदस्य सचिव श्रेष्ठले भने, ‘प्रतिष्ठान र प्राज्ञहरूबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाउने निर्णय गरेका छौं।’

भोटेकोशी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण संकलन तथा उद्धार र खोजी कार्य जारी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0