पोखरा । गण्डकी प्रदेश सरकारको आयोजनामा पोखरामा  ‘गणतन्त्र दिवस २०८३’ मनाइएको छ।  गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टको प्रमुख आतिथ्यमा प्रदेशका मन्त्रीहरू तथा सभा सदस्यहरूको सहभागितामा शुक्रबार गणतन्त्र दिवस मनाइएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै  गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले गणतन्त्र दिवसले सबै नेपालीहरूलाई संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्थाको माध्यमद्वारा दीगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकताबद्ध भई अघि बढ्न प्रेरणा प्रदान गर्न सकोस् भनी शुभकामना व्यक्त गरे।  गणतन्त्रलाई सुदृढ बनाउन शासन प्रणालीको पारदर्शिता, जनताप्रति जवाफदेही राज्य प्रणाली, सुशासन, जनसहभागितासहितको विकास प्रक्रिया, सामाजिक न्याय, अवसरको न्यायोचित वितरण, रोजगारीमा तीव्र वृद्धि र सेवा प्रवाहमा चुस्तता अनिवार्य आवश्यकता रहेकोमा उनको जोड छ । यसका लागि आदर्शप्रेरित, सिद्धान्तनिष्ठ राजनीति, आचरणशील तथा उच्च नैतिक राजनीतिक नेतृत्व पहिलो शर्त रहेको उनको भनाई छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गणतन्त्रले जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तन ल्याउनु पर्ने बताए । संघीय शासन व्यवस्थाको अभ्यासमा गण्डकी प्रदेश सरकारले जनअपेक्षा बमोजिम विकास, नीति, सुशासन र पारदर्शिताका क्षेत्रमा आफूलाई स्थापित गराउने प्रयास गरिरहेको उनको दाबी छ ।

मुख्यमन्त्री पाण्डेले स्वास्थ्य क्षेत्रमा सरकारले महत्वपूर्ण कार्य गरेको विवरण प्रस्तुत गरेका थिए । देशमा देखिएका समस्या समाधानका लागि नकारात्मकता भन्दा सकारात्मक सोच र सामूहिक प्रयत्न आवश्यक रहेको उनले सुनाए ।

कार्यक्रममा गण्डकी प्रदेश सभाका सभामुख कृष्ण प्रसाद धिताल, पूर्व मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता खगराज अधिकारी, प्रमुख विपक्षी दलका नेता हरिबहादुर चुमान लगायतले बोलेका थिए ।  गण्डकी प्रदेश सरकारका निमित्त प्रमुख सचिव कृष्णप्रसाद लम्सालले सबैक्षेत्रको सहायताको माध्यमबाट प्रदेशाले आफ्नो लक्ष्य पुरा गर्नुपर्ने खाँचो देखिएको औल्याए । केही ग्याप र समीक्षा रहेकोले समग्र रुपमा प्रदेशको अवस्था सन्तोषजनक नदेखिएको भएपनि सबैको साथ मिलेमा त्यसलाई चिर्न सकिने उल्लेख गरे ।

दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान दिएकालाई सम्मान समेत अर्पण गरिएको थियो । प्रदेश सरकारले सञ्चार, शिक्षा, कृषि, पर्यटन, समाजसेवा र सुरक्षालगायत क्षेत्रमा सक्रिय व्यक्तित्वलाई नगद पुरस्कार, सम्मानपत्र र दोसल्लासहित सम्मान गर्दै गणतन्त्रको प्रतिफल नागरिकस्तरसम्म पुर्‍याउने काममा प्रोत्साहन गर्ने प्रयास गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0