पोखरा । ‘तेस्रो सूर्यतारा खेल महोत्सव २०८२’ अन्तरगत पुरुष सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधिको लागि रामघाट एफसी ग्रिन र मिक्की एफसीले प्रतिष्पर्धा गर्ने भएका छन् । आइतबार भएको सेमिफाइनल खेलमा स्याङ्जा युवा क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै मिक्की एफसी फाइनलमा पुगेको हो । मिक्कीको लागि उपेन गुरुङ र आशिक गुरुङले गोल गरेका थिए । यो खेलमा मिक्कीका अमिर गुरुङ मेन अफ दि म्याच घोषित भए ।
अर्को सेमिफाइनल खेलमा रामघाट एफसी ग्रिनले आयोजक सूर्यतारा क्ल्बलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा मिक्कीसँगको भेट पक्का गर्यो । रामघाटका लागि विशाल बिक र सुशान्त गुरुङले गोल गरे भने सूर्यताराका लागि आकाश थापा मगरले गोल गरे पनि जितको लागि त्यो पर्याप्त भएन । रामघाट एफसी ग्रिन र मिक्की एफसी बीचकाे फाइनल खेल सोमबार दिउँसो १ बजे हुने प्रचार प्रसार संयोजक ईश्वर अधिकारीले जानकारी दिए ।
पुरुष सेभेन ए साइड फुटबल प्रतियोगितामा कुल १८ टिम क्लब अध्यक्ष विष्णु पुनले जानकारी दिए । यी टिमलाई दुई समुहमा विभाजन गरिएको छ । सेभेन ए साइड फुटबल प्रतियोगितामा प्रथम हुनेले २ लाख २ हजार २ सय २२ रुपैयाँ सहित सिल्ड मेडल र प्रमाणपत्र हात पार्ने अध्यक्ष पुनले बताए । द्वितीय हुने टोलीले १ लाख १ हजार १ सय ११ रुपैयाँ सहित सिल्ड मेडल र प्रमाणपत्र पाउने अध्यक्ष पुनको भनाइ छ ।
फुटबलका अलावा महोत्सवमा खुला सामूहिक लोक नृत्य प्रतियोगिता, खुला महिला स्लो स्कुटर रेस प्रतियोगिता, राष्ट्रिय खुला महिला डोरीतान प्रतियोगिता, खुला टेबलटेनिस प्रतियोगिता, एथ्लेटिक्स प्रतियोगिता र जातीय सङ्घसंस्था स्तरीय झाँकी प्रदर्शनी प्रतियोगिता समेत महोत्सवको आकर्षणको रुपमा रहेका छन् ।
राष्ट्रिय खुला महिला डोरीतान प्रतियोगिताको उपाधिको लागि गण्डकी प्रदेश डोरी तान सङ्घ र हिमाली आमा समुह अर्घौबीच प्रतिष्पर्धा हुने भएको छ । तेस्रो स्थानको लागि सृजना आमा समुह र लालीगुँरास यजु समुह भिड्नेछन् । महिला डोरी तान प्रतियोगितामा विजेताले ५५ हजार ५५५ रुपैयाँ, उपविजेताले ३३ हजार ३३३ रुपैयाँ र तेस्रो हुने टोलीले २२ हजार २२२ रुपैयाँ पुरस्कार पाउनेछ ।
खुल्ला ‘स्लो’ महिला स्कुटर रेसमा पहिलोदेखि चौथो स्थान हासिल गर्नेले क्रमशः ३३ हजार, २२ हजार, ११ हजार र ५ हजार रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने व्यवस्था गरिएको छ । जातीय संघ-संस्थाको झाँकी प्रदर्शनीतर्फ उत्कृष्ट तीन समूहलाई क्रमशः ४४ हजार, ३३ हजार र २२ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरिने अध्यक्ष पुनले जनाए ।
‘स्पोर्ट्स फर टुरिजम’ भन्ने मूल नाराको साथ आयोजना भएको तेस्रो सूर्य तारा खेलकुद एवं सांस्कृतिक महोत्सव २०८२ मा डोरीतान सङ्घ गण्डकी प्रदेशले सहकार्य गरेको छ । प्रायोजकमा कर्माचार्य बेक्स एण्ड फूड्स प्रालि, हिमालयन ब्रुअरी प्रालि, आदर्श हार्डवेयर पोखरा २९ रहेका छन् । इनर्जी ड्रिङ्क्स पार्टनरमा एक्सट्रिम इनर्जी ड्रिङ्क्स, प्रवर्द्धकमा पोखरा महानगरपालिका कार्यालय र प्रदेश खेलकुद परिषद् गण्डकी, विशेष सहयोगीको रुपमा रूपा गाउँपालिका कार्यालय, पोखरा महानगरपालिका वडा नं २९ रहेको छ ।
सहयोगी संस्थाहरूमा जिल्ला खेलकुद विकास समिति कास्की, एन्फा कास्की, डोरीतान सङ्घ कास्की, आदर्श युवा क्लब, लेखनाथ उद्योग वाणिज्य सङ्घ, लेखनाथ खानेपानी उपभोक्ता संस्था, नमस्ते पार्टी प्यालेस, एटलस डिजाइन एण्ड प्रिन्ट तालचोक, स्थानीय आमा समुह, स्थानीय टोल विकास संस्थाहरू रहेका छन् । हेल्थ पार्टनरमा फेवा सिटी हस्पिटल प्रालि, वडा स्वास्थ्य केन्द्र पोखरा २९ रुद्र मेडिकल हल तालचोक रहेका छन् ।
‘समृद्ध समाज, हाम्रो परिकल्पना’ भन्ने उद्देश्यका साथ २०७५ सालमा स्थापना भएको क्लबले खेल महोत्सवका अलावा विभिन्न सामाजिक कार्य मार्फत आफ्नो सक्रियता बढाइरहेको छ । खेल महोत्सव चैत्र ३० गते समापन गरिने प्रचार संयोजक अधिकारीले जानकारी दिए ।















