पोखरा । संस्करणको आहारारा पोखरा गोल्डकप प्रतियोगितामा १२ टिमको सहभागिता रहने भएको छ । सहारा क्लब पोखराको आयोजनामा यही माघ २७ गतेदेखि फागुन ९ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी १२ टिम सहभागिता रहने जानकारी दिएको हो ।
आयोजकका अनुसार यसपटक फ्लड लाइटमा प्रतियोगिता सञ्चालन गरी खेललाई पोखराको पर्यटन प्रवर्द्धनसँग जोड्ने उद्देश्य राखिएको छ । प्रतियोगितामा ‘ए’ डिभिजन लिगका ७ टिम सहभागी हुनेछन् । विभागीय टोली नेपाल पुलिस क्लब, एपीएफ क्लब, मछिन्द्र फुटबल क्लब, मनाङ मस्र्याङ्दी क्लब, चर्च ब्वाइज युनाइटेड, जाउलाखेल युथ क्लब र प्लानिङ ब्वाइज युनाइटेड प्रतिस्पर्धामा उत्रिनेछन् ।
यस्तै, विदेशी सहभागिताले प्रतियोगितालाई थप अन्तर्राष्ट्रिय बनाएको छ । उज्वेकिस्तानको आभा फुटबल क्लब, हङकङको गार्खा फुटबल क्लब र भारतको थन्डरबोल्ट नर्थ युनाइटेडले सहभागिता जनाउने पक्का भएको छ भने भारतकै एक टिमको अन्तिम टुङ्गो लाग्न बाँकी रहेको क्लबका अध्यक्ष केशव बहादुर थापाले जानकारी दिए । आयोजक सहारा क्लबको टिम समेत प्रतियोगितामा रहनेछ । रजत वर्ष संस्करणलाई विशेष बनाउँदै आयोजकले पुरस्कार राशीमा समेत वृद्धि गरेको छ । प्रतियोगिताको उपाधि जित्ने टिमले १४ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टिमले ७ लाख १ हजार रुपैयाँ पाउनेछन् ।
‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रूपमा स्थापित गरौं’ भन्ने नाराका साथ सञ्चालन हुने प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउ रहेको छ ।आहारारा पोखरा गोल्डकपको रजत वर्षलाई विशेष बनाउन क्लबले पोखरा रङ्गशालामा सन्ध्याकालिन फुटबल खेलाउने गरी तयारी थालिएको अध्यक्ष थापाले जानकारी दिए ।
रजत वर्षलाई लक्षित गरी नेपाल फोटो पत्रकार सङ्घ, कास्कीको संयोजनमा फोटो प्रदर्शनी पनि गर्न लागिएको उनले बताए । पत्रकार सम्मेलनमा बोल्दै हिमश्री फुड्सका कार्यकारी निर्देशक प्रकाश केसीले सहारा क्लब भन्नेबित्तिकै आहा रारा गोल्डकप र हिमश्री फुड्सको उत्पादन जोडिने बताउँदै यसले आफूलाई गौरवान्वित महसुस गराउने बताए । उनले आहाको उत्पादन पुनः सुरु गरिएको जानकारी दिए ।
पोखरा महानगरपालिकाको संरक्षकत्वमा आयोजना हुने प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद, अखिल नेपाल फुटबल सङ्घ, प्रदेश खेलकुद परिषद गण्डकी, जिल्ला खेलकुद विकास समिति कास्की, एन्फा कास्की तथा सहारा युके, सहारा हङकङ र सहारा क्लब अष्ट्रेलियाले विशेष सहयोग गरेका छन् ।
















