पोखरा । गण्डकी प्रदेशले छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपको पुरुषतर्फको उपाधि जितेको छ ।पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा शनिबार भएको च्याम्पियनसिपको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकीले उपाधि जितेको हो ।

पहिलो सेट २३–२५ ले गुमाएको गण्डकीले त्यसपछिका तीन सेटमा पुनरागमन जित निकाल्दै उपाधि रक्षा गरेको हो । गण्डकीले दोस्रो सेट २८–२६, तेस्रो सेट २५–२२ र चौथो सेट २५–१७ ले जित निकाल्यो ।

उपाधिसँगै गण्डकीले ६ लाख ६६ हजार ६६६ रुपैयाँ हात पार्‍यो । फाइनलमा पराजित भएको पुलिसले ३ लाख ६६ हजार ६६६ रुपैयाँमा चित्त बुझायो । तेस्रो भएको पर्वत जिल्ला भलिबल सङ्घले २ लाख ६ हजार ६६६ रुपैयाँ पायो । तेस्रो स्थानका लागि भएको खेलमा पर्वत भलिबलले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

गण्डकीका मुस्ताफा खान प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले २६ हजार ६६६ रुपैयाँ प्राप्त गरे । सर्भर अद्नान खान, लिविरो भीमबहादुर गाहा, सेटर बलराम गुरुङ, ब्लकर फहद राज, स्पाइकर फकर वाट्टु, प्रशिक्षक रमेश केसी विधागततर्फ उत्कृष्ट बने । उनीहरुले जनही ११ हजार १११ रुपैयाँ हात पारे । महिलातर्फको उपाधि भने न्यु डायमन्ड स्पोर्ट्स क्लबले जितेको थियो । जसमा नेपाल पुलिस क्लब उपविजेता र थाइल्याण्ड क्विन्स तेस्रो बने ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ ९ गतेदेखि सुरु भएको च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0