पोखरा । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सम्बन्धमा सुरक्षा व्यवस्थापन, निर्वाचन आचारसंहिता २०८२ को कार्यान्वयन लगायतका विषयमा पोखरामा छलफल भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीको आयोजनामा भएको कार्यक्रममा निर्वाचन सम्बद्ध विषयमा सरोकारवाला पक्षहरूसँग छलफल गरिएको हो ।

छलफलमा बोल्दै कास्कीका मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्बासेले स्वच्छ निष्पक्ष र भयरहित वातावरणमा भएको निर्वाचनबाट चुनिएका जनताका प्रतिनिधिले कानून बनाए मात्र त्यहाँ कानूनको शासन हुने उल्लेख गरे । त्यसको लागि आचरण र गतिविधिको शुद्धता अहिलेदेखिनै सुरु हुनुपर्ने बताए । निर्वाचन स्वच्छ निष्पक्ष भएन भने त्यस्तो निर्वाचनबाट छानिएका प्रतिनिधिबाट सुशासन परिकल्पना गर्न नसकिने उनको भनाइ छ । छलफलमा सहभागी सरोकारवाला पक्षले जनाएको प्रतिवद्धताप्रति खुशी व्यक्त गर्दै गरेका प्रतिवद्धता कार्यान्वयन हुने विश्वास उनले गरे । 

उनले आचारसंहिताको प्रभावकारी कार्यान्वयन सबैको साझा दायित्व भएकाले यो दायित्वलाई सबैले आत्मसात गर्नुपर्नेमा जोड दिए । कास्की जिल्लामा निर्वाचन आचारसंहिताको उल्लङ्घन भएको विषयमा हालसम्म कुनै उजुरी नपरेको बताउँदै मुख्य निर्वाचन अधिकृत बेलबासेले सबैको सामूहिक प्रयासबाट निर्वाचनलाई निष्पक्ष एवम् भयरहित बनाउन सकिने बताए । निर्वाचनको स्वच्छताले नै सुशासन ल्याउन सक्ने भन्दै यसमा गम्भीर बन्न उनले आग्रह गरे ।

कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले आफूहरूको ध्यान निर्वाचनमा केन्द्रित भएको भन्दै निर्वाचन सम्पन्न नहुँदासम्म निर्वाचन आचारसंहिताले रोकेका कार्यक्रम नगर्न आग्रह गरिन् ।

 अनुगमन अधिकृत समेत रहेका कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले निर्वाचन आचारसंहिता सम्बन्धमा जानकारी गराएका थिए ।

छलफल कार्यक्रममा कास्कीका जिल्ला समन्वय अधिकारी लिलाधर पौडेल, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य,  प्रदेश निर्वाचन अधिकारी नारायण ढकाल, प्रमुख कोष नियन्त्रक रमेश अर्याल, कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, नेपाल पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष रमेश पौडेल, राष्ट्रिय मानव अधिकार आयोग गण्डकीका प्रमुख नितु गर्तौला लगायतले बोलेका थिए । 

कार्यक्रममा उपस्थित राजनीतिक दल, उम्मेदवार, निजी क्षेत्र, नागरिक समाज, पत्रकार, उद्योगी व्यवसायी, शिक्षक, कर्मचारी लगायतले आफ्ना जिज्ञासा र आचारसंहिता पालना गर्ने प्रतिवद्धता जनाएका थिए । यसरी जिज्ञासा राख्ने र प्रतिवद्धता जनाउनेमा पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्की, लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष जानुका पराजुली, नेकपा एमाले कास्कीका कार्यबाहक अध्यक्ष भेषराज बराल, उपसचिव लालबहादुर परियार, नेकपा माओवादीका उमेश सिके, नेपाली कम्युनिष्ट पार्टीका खड्ग हमाल, नारी जागरण अभियानका संयोजक अञ्जु केसी, नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकीका अध्यक्ष रोम हर्षण पौडेल, नेपाल कर्मचारी युनियन कास्कीका अध्यक्ष केदार सापकोटा लगायत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0