पोखरा । छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपको पुरुषतर्फको उपाधिका लागि गण्डकी प्रदेश र पर्वत जिल्ला भलिबल सङ्घ भिड्ने भएका छन् । पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको समूह चरणको अन्तिम खेल पाँचौँ सेटमा पुगेपछि गण्डकी र पर्वत दुवैले फाइनलमा स्थान बनाएका हुन् ।

पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको गण्डकीले दोस्रो सेट २२–२५ ले गुमाउन पुग्यो । पुनः तेस्रो सेटमा २५–२२ ले जित निकालेको गण्डकीले चौथो सेट २३–२५ ले पर्वतलाई सुम्पिँदै खेल पाँचौँ सेटमा धकेलियो । पाँचौँ सेटमा १५–१३ को जित निकाल्दै गण्डकीले २ अङ्क प्राप्त गर्‍योपाँचौँ सेटमा पराजित पर्वतले एक अङ्क पायो । गण्डकी ५ खेलबाट ११ अङ्क र पर्वत १० अङ्कसहित पहिलो र दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् । समान १० अङ्क रहेको नेपाल पुलिस क्लब सेटका आधारमा पर्वतभन्दा पछि रहँदै अङ्क तालिकाको तेस्रो स्थानमा रह्यो । त्रिभुवन आर्मी क्लब चौथो, सशस्त्र प्रहरी बल एपीएफ पाँचौँ र माल्दिभ्स भलिबल एसोसियसन छैटौँ भयो ।

गण्डकी र पर्वतबीचको फाइनल खेल शनिबार दिउँसो २ बजेबाट सुरु हुनेछ । त्यसभन्दा अघि तेस्रो स्थानका लागि खेल हुनेछ । तेस्रो स्थानका लागि अङ्क तालिकाको तेस्रो स्थानमा रहेको पुलिस र चौथो स्थानमा रहेको आर्मी भिड्नेछ । उक्त खेल बिहान ११ बजेबाट सुरु हुनेछ । च्याम्पियनसिपमा विजेता हुने टोलीले ६ लाख ६६ हजार ६६६, उपविजेता हुने टोलीले ३ लाख ६६ हजार ६६६ र तेस्रो हुने टोली २ लाख ६ हजार ६६६ रुपैयाँ पाउनेछन् ।


यसअघि आज भएको महिलातर्फका फाइनलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यु डायमन्ड स्पोर्ट्स क्लबले उपाधि जितेको थियो । न्यु डायमन्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पार्‍यो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0