पोखरा । न्यु डायमन्ड स्पोर्ट्स क्लबले छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपको महिलातर्फको उपाधि जितेको छ ।
पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत महिलातर्फको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यु डायमन्डले उपाधि जितेको हो ।

न्यु डायमन्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पार्‍यो । उपाधिसँगै न्यु डायमन्डले ६ लाख ६६ हजार ६६६ रुपैयाँ हात पार्‍यो । फाइनलमा चुकेको पुलिसले ३ लाख ६६ हजार ६६६ रुपैयाँमा चित्त बुझायो । तेस्रो बनेको थाइल्याण्ड क्विन्सले २ लाख ६ हजार ६६६ रुपैयाँ पायो ।

न्यु डायमन्डकी सुमित्रा रेग्मी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बनिन् । उनले २६ हजार ६६६ रुपैयाँ पाइन् । सर्भर प्रतिभा माली, लिविरो शान्तिकला तामाङ, सेटर प्रगती नाथ, ब्लकर सुनिता खत्री, स्पाइकर पथैया र प्रशिक्षक कुमार राई विधागततर्फ उत्कृष्ट बने । उनीहरूले जनही ११ हजार ६६६ हात पारे ।

 टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0