पोखरा । त्रिभुवन आर्मी क्लबले छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपमा रोमाञ्चक जित निकालेका छ । पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो तथा अन्तिम खेलमा पुरुषतर्फ आर्मीले सशस्त्र प्रहरी बल (एपीएफ) विरुद्ध ३–२ सेटको रोमाञ्चक जित निकालेको हो ।

पहिलो सेट २५–१९ ले जितेको आर्मीले दोस्रो सेट २२–२५ र तेस्रो सेट २१–२५ ले एपीएफलाई सम्पियो । चौथो सेटमा आर्मीले पुनः २५–१७ को जित निकाल्दा खेल पाँचौँ सेटमा धकेलिएको थियो । पाँचौँ सेटमा १८–१६ ले जित निकाल्दै आर्मीले खेल आफ्नो पक्षमा पारेको हो । आर्मी र एपीएफले समान ७ अङ्क जोडेका छन् । सेटका आधारमा अघि हुँदा आर्मीले तेस्रो स्थानका लागि प्रतिष्पर्धा गर्न पाउनेछ ।

यसअघि भएको पुरुषतर्फ खेलमा नेपाल पुलिस क्लबले माल्दिभ्स भलिबल एशोसियसनलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । यो जितसँगै पुलिसको फाइनल खेल्ने सम्भावना कायमै छ । यस्तै आजै भएको महिलातर्फको खेलमा सशस्त्र प्रहरी बल एपीएफलाई हराउँदै थाइल्याण्ड क्विन्स तेस्रो बनेको थियो । तेस्रो बनेसँगै थाइल्याण्डले २ लाख ६ हजार ६६६ रुपैयाँ हात पार्‍यो
च्याम्पियनसिपअन्तर्गत भोलि शुक्रबार दुई खेल हुनेछन् । पहिलो खेल महिलातर्फ उपाधिका लागि न्यु डायमन्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब खेल्नेछन् । उक्त खेल बिहान ११ बजेबाट सुरु हुनेछ । त्यसपछि पुरुषतर्फको खेल हुनेछ । पुरुषतर्फ समूह चरणको अन्तिम खेल पर्वत जिल्ला भलिबल सङ्घ र गण्डकी प्रदेशबीचको खेल दिउँसो एक बजेबाट सुरु हुने तालिका छ । उक्त खेलले फाइनल खेल्ने टोलीको टुङ्गो लाग्नेछ ।

५ खेलबाट पुलिसले १० अङ्क जोडेको छ । समान ४ खेल खेलका गण्डकी प्रदेश र पर्वत जिल्ला भलिबल सङ्घको समान ९ अङ्क छन् । गण्डकी र पर्वतले शुक्रबार एकआपसमा भिड्नेछन् । कुनै एक टोलीले सिङ्गोअङ्क प्राप्त गर्ने गरी जित निकालेको अवस्थामा जित्ने टोली र पुलिस फाइनलमा पुग्नेछन् । उक्त खेल पाँचौँ सेटमा पुगेको अवस्थामा भने सेटमा आधारमा फाइनल खेल्ने टोलीको टुङ्गो लाग्नेछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0