पोखरा । पोखरा थिएटरमा तेस्रो पटक नाटक ‘मुनामदन’ पुनः मञ्चन हुने भएको छ ।  पोखरा थिएटरको प्रस्तुतीमा तयार भएको यो नाटक मंसिर ११ गतेबाट पोखरा गैह्रापाटनमा रहेको गन्धर्व नाटकघरमा मञ्चन हुने भएको हो । दर्शकको माग अनुसार केही परिष्कृत गरेर नाटक मञ्चन गर्ने तयारी गरिएको पोखरा थिएटरले जनाएको छ ।

 पोखरा, चितवन र नवलपुरमा दर्शकको अपूर्व माया पाएपछि पुनः पोखरामा मञ्चन गर्न लागिएको हो । मंसिर २० गते सम्म साँझ ५ बजे नियमित सो को रुपमा मञ्चन हुने नाटकलाई बिहान र दिउँसो विशेष सो को रुपमा विद्यालय, कलेज, संस्था तथा समूहका लागि देखाउने तयारी पनि गरिएको बताइएको छ ।

नाटकमा मुना र मदनको अमर प्रेमलाई दर्शाइएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लेखिएको मुनामदन खण्डकाव्यमा आधारित यो नाटकको परिकल्पना र निर्देशन परिवर्तनले गरेका छन् ।

नाटकमा मदनको भूमिकामा परिवर्तन, मुनाको भूमिकामा कृष्टी गुरुङ देखिनेछन् । यसैगरी आमाको भूमिका प्रमिला तुलाचन, लालध्वज धनकाजी श्रेष्ठ, जुमन रमेशबाबु तिमल्सिना, बिसे प्रकाश रेग्मी हमाल, नैनी रञ्जु दाहाल, झुर्के सुसन पौडेल तथा उत्सर्ग सुवेदी, छिरिङ विकास फगामी मगर, लालध्वजकी श्रीमति सितला अधिकारी, गोविन अर्जुन शर्मा, लावा अञ्जली शाही,  फुचा राहुल श्रेष्ठ, मदनको दिदी विष्णु कार्की   र गाउले तथा लामाको भूमिकामा प्रतीक घिमिरे देखिनेछन् ।

यसैगरी सङ्गीत संयोजनमा मिलन गिरी, शब्द संयोजनमा विवेक देवकोटा, प्रकाश परिचालनमा श्रीकृष्ण भण्डारी, साउण्ड परिचालन तथा मञ्च प्रबन्धकमा विकास अधिकारी, कोरियोग्राफीमा सरिता थापा मगर सहित बक्स अफिसमा अस्मिता गोदार तथा भान्छामा बिनिता बयलकोटी र अप्सरा बयलकोटीले सहयोग गर्नेछन् ।

नाटकका निर्देशक तथा परिकल्पनाकार मुनामदनको गरिमा बचाउन चुनौती रहेको भन्दै झ्याउरे लयमा रहेको खण्डकाव्यलाई शास्त्रीय सङ्गीतको प्रयोग सहित दृश्यमा केही फरकपना दिन खोजेका बताए । यस अगाडि हेरिरहेको मुना मदन भन्दा यसमा केही न केही पृथकता महसुस गर्न पाइने उनको भनाइ छ । मुनामदन नाटक लेख्दाको तत्कालीन समय र अहिलेको समयको सान्दर्भिकतालाई नाटकमा जोड्न खोजिएको छ । यस अगाडि मञ्चन गरिए भन्दा केही परिस्कृत स्वरुप दर्शकले महशुस गर्न पाउने उनले खुलाए ।

प्रेमको कुरा मात्र नभएर यसले उठाएको रोजगारको लागि विदेश जाने सिलसिला तथा त्यसले ल्याएका विभिन्न उतार चढावलाई सुन्दर ढङ्गले पस्कने प्रयास नाटकमा गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0