पोखरा । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान २०२५ मङ्गलबारबाट सुरु भएको छ । अभियानको अवसरमा पोखरामा प्रभातफेरी सहितका कार्यक्रम आयोजना गरिएको छ ।   प्रभातफेरी कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्यका लागि राज्यदेखि समाजसम्मको सामूहिक प्रतिबद्धता आवश्यक भएको बताएका छन्।

 मन्त्री थापाले नेपाली जनताले दशकौँ लामो राजनीतिक आन्दोलन र सङ्घर्षको जगमा महिलाका अधिकार तथा सशक्तीकरणका क्षेत्रमा प्राप्त प्रगतिलाई ऐतिहासिक उपलब्धि बताए। मन्त्री थापाले नेपालमा तीनै तहका सरकार, संसद् र नीति निर्माणका निकायहरूमा महिलाको सहभागिता निरन्तर बढिरहेको  जुन विश्वकै लागि प्रेरणादायी उदाहरण भएको भन्दै समानता, समावेशिता र सहभागितमूलक शासन प्रणालीलाई नेपालको संविधानले सुनिश्चित गरेको उल्लेख गरे ।  उनले महिलाविरुद्धको हिंसा उन्मूलनमा कानुनको प्रभावकारी कार्यान्वयन अत्यन्त जरुरी रहेको बताए। देशभर बोक्सी प्रथा, छाउपडी, दाइजो, तिलक तथा छुवाछुत जस्ता कुसंस्कार आज पनि समाप्त हुन नसकेको उल्लेख गर्दै उनले यस्तो सामाजिक अन्धविश्वासका कारण धेरै महिलाहरू हिंसा, विभेद र अपमान सहन बाध्य रहनु परेको बताए। 

डिजिटल प्रविधिबाट बढिरहेका दुर्व्यवहार र अनलाइन हिंसाप्रति चिन्ता व्यक्त गर्दै मन्त्री थापाले प्रविधिको सुरक्षित र सकारात्मक प्रयोग आवश्यक रहेको बताए। राज्य, सङ्घ संस्था समाज र महिलाहरूले समन्वय सँगै सहकार्य गर्नुपर्ने उनको भनाई छ । १६ दिने अभियानले लैङ्गिक हिंसाको क्षेत्रमा आवद्ध विभिन्न सङ्घ संस्था नागरिक समाज , र महिला अधिकारकर्मीहरूलाई उर्जा र प्रेरणा प्रदान हुने थापाले बताएका छन् ।


कार्यक्रममा कास्की जिल्लाको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले महिलालाई आर्थिक रूपमा सक्षम, आत्मनिर्भर र अवसरयुक्त बनाउनु नै हिंसा रोकथामको मूल आधार भएको उल्लेख गरिन् ।  राज्य, समाज, नागरिक समाज, संघ–संस्था र महिला अधिकारकर्मीबीच  मजबुत सहकार्यले नै समस्याको समाधान हुने भनाई उनको छ । परम्परागत रुपमा हुने हिंसालाई सम्बोधन गर्न संयन्त्र बनाएर केही हद सम्म नियन्त्रण र सम्बोधन सकेको बताएकी छिन् । हिंसा गर्ने व्यक्ति र सञ्जालहरु , धेरै भएको हुनाले बदलिदो परिस्थिति सँगै परिवर्तन हुन नसकेको बताईन । 

मानव अधिकार आयोग गण्डकी प्रमुख नितु गर्तौलाले १६ दिने अभियानले सबै सम्बद्ध पक्षमा नयाँ ऊर्जा, उत्साह र प्रेरणा थपेको बताइन् । उनले सबै मिलेर महिलाविरुद्धका सबै प्रकारका हिंसा, विभेद, उत्पीडन, अन्धविश्वास र कुसंस्कार अन्त्य गर्दै समानता र न्यायमा आधारित समुन्नत समाज निर्माणतर्फ अघि बढ्नुपर्ने बताइन् ।

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक दिनेश कुमार आचार्यले लैङ्गिक हिंसामुक्त समाज निर्माण हाम्रो साझा जिम्मेवारी मात्र नभई भविष्यका पुस्ताप्रतिको कर्तव्य पनि भएको बताए । उनले हिंसा नियन्त्रणका लागि प्रहरीले समाज सँग मिलेर काम गरिरहेको उल्लेख गरे।  

गण्डकी प्रेस रजिष्ट्रार विमला भण्डारीले समाज परिवर्तनका लागि सकरात्मक सोचको आवश्यकता रहेको बताइन् । लैङ्गिक हिंसा अन्त्यका लागि प्रविधिको सही प्रयोग गर्दै सकरात्मक सन्देश प्रवाह गर्नुपर्ने आवश्यकतालाई औंल्याइन् । 

प्रदेशका विभिन्न सरकारी निकाय, सामाजिक संघ–संस्था, नागरिक समाजका प्रतिनिधि तथा महिला अधिकारकर्मीहरूको सक्रिय सहभागिता रहेको कार्यक्रममा गैसस महासंघ गण्डकीका अध्यक्ष पदमराज पहारी, नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, मन्त्रालयका महाशाखा प्रमुख प्रकाश देवकोटाले बोलेका थिए । पोखराको सभागृहचोकबाट सुरु भएको प्रभातफेरी शहिदचोकमा पुगेर समापन गरिएको थियो । कार्यक्रममा पोखरा थिएटरका कलाकारले सचेतनामुलक सडक नाटक प्रस्तुत गरेका थिए । १६ दिने अभियान मंसिर २४ गते सम्म चल्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0