पोखरा । सहारा क्लब पोखराले आयोजना गर्ने २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकप माघ अन्तिम साताबाट हुने भएको छ । आयोजक सहारा क्लब पोखराले सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर प्रतियोगिता आगामी माघ २७ गतेदेखि फागुन ९ गतेसम्म आयोजना हुने जानकारी दिएको हो । प्रतियोगिता आयोजना गर्नका लागि अखिल नेपाल फुटबल सङ्घ एन्फाले सो मिति उपलब्ध गराएको सहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए ।
प्रतियोगितामा यस वर्ष पनि १२ टिमले सहभागिता जनाउने भएका छन् । जसमा तीन विदेशी क्लब, ए डिभिजन क्लबहरू र आयोजक सहारा क्लब सहभागि हुने अध्यक्ष थापाले बताए । अध्यक्ष थापाले प्रतियोगिताका ख्यातिलाई मध्यनजर गर्दै गुणस्तरीय फुटबल खेलाउने प्रयास निरन्तर गरिराखेको बताए । उनले २५ औं संस्करण विशेष हुने भन्दै यसका लागि उत्कृष्ट टिम, व्यवस्थापन र दर्शक सहभागिता बढाउन निरन्तर लाग्ने प्रतिबद्धता जनाए । अध्यक्ष थापाले प्रतियोगिता सफल बनाउन दर्शकको भूमिका महत्वपूर्ण हुने भएकाले दर्शकसंख्या बढाउन समेत क्लबले ध्यान दिने बताए ।
प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिले नै निरन्तरता दिने क्लबका बरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङले जानकारी दिए । हिमश्री फुड्सले १० वर्षका लागि पहिले नै सम्झौता गरिसकेको छ । प्रतियोगितामा संरक्षकका रुपमा पोखरा महानगरपालिका रहेको छ ।
पोखरा महानगरपालिका वडा नं.९ प्रतियोगिताको सहप्रायोजकको रुपमा रहेको छ । पत्रकार सम्मेलनमा बोल्दै पोखरा ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले सहारा क्लबले फुटबलको माध्यमबाट पोखरालाई देश विदेशमा चिनाएको बताए । क्लबले सूर्यबहादुर केसी स्मृति सहारा एकेडेमीमा असहाय बालकहरूलाई आवाससहित फुटबल प्रशिक्षण र शिक्षा, स्वास्थ्य र सुरक्षा दिइरहेको बताउँदै उक्त कार्यको प्रशंसा गरे ।
२५ औं संस्करणलाई रजत वर्षको रुपमा मनाउने र यसलाई विशेष प्रतियोगिता बनाउने आयोजक सहारा क्लबको योजना छ । आयोजक सहाराले पोखरासँग भगिनी सम्बन्ध बनाएका सहरबाट टिम ल्याउने जनाएको छ । जसका लागि पोखरा महानगरपालिकासँग सहकार्य गर्ने जनाईएको छ।












