पोखरा । महोत्सवको पनि महोत्सव भनेर चिनिने लेखनाथ महोत्सव आगामी पुस ३ गते देखि १४ गते सम्म हुने भएको छ । आयोजक लेखनाथ उद्योग वाणिज्य सङ्घले आइतबार पत्रकार सम्मेलन गरेर महोत्सवको तयारी सुरु भएको जानकारी गराएको हो । महोत्सव लेखनाथ उद्योग वाणिज्य सङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजना र उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश एवं नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको सह-आयोजनामा पोखरा २७ को तालचोकमा हुने छ ।
पत्रकार सम्मेलनमा लेखनाथ उद्योग वाणिज्य सङ्घकी अध्यक्ष जानुका पराजुली अधिकारीले जेनजी आन्दोलनपछि खस्किएको निजी क्षेत्रको मनोबल उच्च बनाउनका लागि महोत्सव आयोजना गर्न लागिएको बताइन् । मेला महोत्सव गरेर सफल हुने अवस्था नभएको उल्लेख गर्दै यसले निराश बनेका उद्योगी व्यवसायी, क्रेता बिक्रेता र उपभोक्तालाई राहत महसुस गराउने अध्यक्ष पराजुलीको विश्वास छ ।
यसवर्ष महोत्सवमा ३३५ वटा स्टल रहने लेखनाथ उद्योग वाणिज्य सङ्घका द्वित्तीय उपाध्यक्ष एवं २१ औँ लेखनाथ महोत्सवका प्रचार प्रसार संयोजक ध्रुबबाबु भट्टराईले जानकारी दिए । जसमध्ये अटो प्रदर्शनी स्टल ६ वटा, शैक्षिक ग्रामीण प्रविधि प्रदर्शनी स्टल ८ वटा, कृषि प्रदर्शनी ३४, किचन सामाग्री २७, मेसिनरी ८, हस्तकला प्रदर्शनी १८, गार्मेन्ट तथा रेडिमेट १२२, जनरल ३४, फुड एण्ड बेभरेज प्रदर्शनी १४, डेरी प्रदर्शनी १०, नेपाली उत्पादन प्रदर्शनी १२, खाना महोत्सव १५, बैङ्क तथा वित्तिय सङ्घसंस्था तथा प्रायोजक अन्तर्गत २७ स्टल रहने छन् ।
लेखनाथ उद्योग वाणिज्य सङ्घका सदस्यहरूलाई स्वयंले स्टल राखेमा २० प्रतिशत छुट र सामान ढुवानीका लागि थप रु २ हजार रकम छुट उपलब्ध गराइने जनाईएको छ । भट्टराईका अनुसार सदस्यहरूका लागि मंसिर ८ गते बाट स्टल बुकिङ खुला हुनेछ भने अन्य व्यवसायीहरूका लागि मंसिर १५ गते देखि बुकिङ खुला गरिने छ ।
यसवर्ष गृहलक्ष्मी ग्यास कम्पनी प्रालि महोत्सवको मुख्य प्रायोजकको रुपमा रहेको छ । प्रालिका महाप्रबन्धक भिमराज लामिछानेले नाफा कमाउने भन्दा पनि मानिसहरूलाई एलपीजी ग्यासको प्रयोगबारे सचेत गराउने उद्देश्यले लेखनाथ महोत्सवसँग सहकार्य गर्न लागिएको बताए ।
कार्यक्रमको सञ्चालन महासचिव भरतराज ओझाले गरेका थिए भने धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बाँस्तोलाले गरेका थिए । यस वर्ष महोत्सव प्रवेश टिकट दरः विद्यार्थीका लागि रु ५०, सर्वसाधारणका लागि रु १०० र कन्सर्टका लागि रु २ सय कायम गरिएको छ ।
महोत्सवमा विगतका वर्षहरुझै औद्योगिक ब्यापार मेला, हस्तकलाका सामानहरु, दैनिक उपभोग्य एवं खाद्यान्न, फेन्सी, कस्मेटिक तथा श्रृंगार, विद्युतीय उपकरण, फर्निचर, भान्छामा प्रयोग हुने मालसामानहरु, शिक्षा, स्वास्थ्य, खेलकुदका सामाग्रीहरु, सूचना प्रबिधि तथा सञ्चारका उपकरणहरु, लेखनाथ क्षेत्रका गतिविधिहरु, फुड फेस्टिवल, अटोमोवाइल लगायतको प्रदर्शनी, वित्तिय तथा अन्य सेवामुलक सङ्घ संस्थाको सेवा तथा जानकारी, यस क्षेत्रमा उत्पादित सुन्तला, माछा, मौरी, कफि, ताजा तरकारी, जैविकविविधता, दुग्ध जन्य उत्पादन लगायतको विक्रि एवं प्रदर्शनी रहनेछन् ।
थप आकर्षणको रुपमा यस वर्ष महोत्सवमा गतवर्ष जस्तै एशियाका ज्योतिको रुपमा चिनिने शान्तिका दुतः गौतम बुद्धको प्रतिमा सहितको पर्यटन प्रवद्र्धन कार्यक्रम विजनेश टक शो र मोटीभेसनल स्पिच कार्यक्रम, जातजातिको रितिरिवाज तथा सांस्कृतिक प्रदर्शनी, झाँकीर्याली प्रदर्शनी, महिला विशेष कार्यक्रम अन्तर्गत रत्यौली गित कार्यक्रम, शैक्षिक प्रदर्शनीहरु, विद्यालय स्तरीय कार्यक्रम, महोत्सव प्रर्वद्धन सम्बन्धी टिकटक प्रतियोगिता, महोत्सव प्रर्वद्धन कन्टेन्ट क्रिएशन प्रतियोगिता, सुगम संगित तर्फ पप कन्सर्ट र लाइभ व्याण्ड, राष्ट्रिय स्तरका चर्चित कलाकारहरुवाट लोकदोहोरी तथा हास्यव्यङ्ग्य कार्यक्रम, बाल उद्यान, खाना महोत्सव, उत्कृष्ट स्टल पुरस्कार रहेका छन् ।
महोत्सवमा २ लाख पचास हजारभन्दा बढि दर्शकले मेला अवलोकन गर्ने र करिब ९ करोड बरावरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सवमा करिब ९५ लाख आम्दानी हुने र महोत्सव सम्पन्न गर्नका लागि करिब ८५ लाख खर्च भई १० लाख रूपैयाँ बचत गर्ने आयोजकको लक्ष्य छ ।












